काँग्रेस पदाधिकारी बैठक विना निष्कर्ष टुङ्गियो, भोलि पुनः बस्ने

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठक आज विना निष्कर्ष टुंगिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पौडेल पक्षका २७ केन्द्रीय सदस्यहरूले राखेका १६ बुँदे असहमतिबारे छलफल गर्न बसेको बैठक निष्कर्ष विना टुंगिएको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी विधि विधानअनुसार चल्न नसकेको बताउँदै सभापति देउवाले निर्वाचन आचारसंहिता विपरीत विभागहरू गठन गरेकोले त्यो खारेज हुनुपर्ने बताएका थिए।

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।

बैठकमा आज कुनै ठोस सहमति नभएको र भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने सहभागी एक सदस्यले बताए ।

बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले अहिलेको नेतृत्वले विधानअनुसार नै काम गरिरहेको दावी गरेका थिए। सभापति देउवाले पार्टीभित्र देखिएका असहमति हल गरेर जानुपर्ने बताए ।

कांग्रेसले महाधिवेशनबारे छलफल गर्न कात्तिक २१ मा केन्द्रीय समिति बैठक राखेको छ। उक्त बैठकअघि नै आफूहरूले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्न वरिष्ठ नेता पौडेलले माग गरेपछि सभापति देउवाले अनौपचारिक बैठक राखेका हुन्।

आजको बैठकमा १४ औं महाधिवेशनबारे विषय प्रवेश नै नभएको र भोलि यसबारे छलफल हुने नेताहरूले बताएका छन्।

कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ तर क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंगो लाग्न सकेका छैनन् ।

महाधिवेशन सुनिश्चिततालगायत विषयमा नेतृत्व प्रष्ट हुनुपर्ने भन्दै गत असोज १२ मा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले पार्टी कार्यालयमा हस्ताक्षर नै बुझाएका थिए।

पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले १६ बुँदे असहमतिसहित हस्ताक्षर बुझाएका थिए। उक्त फरक मतबारे आज पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा छलफल गरिएको थियो।

प्रतिक्रिया