आन्तरिक पर्यटक तान्दै सिन्ती झरना [फोटोफिचर]

  • ध्रुवराज खनाल

चितवन । पर्यटकिय नगरी चितवनको सौराहा नजिकै रहेको कालिका नगरपालिकास्थित सिन्ती झरना आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । मौसम चिसो हुँदै गरे पनि यहाँ आन्तरिक पर्यटकको चाप भने घटेको छैन ।

कालिका नगरपालिकाको वडा नं ९ र १० मा पर्ने सो झरनामा सरदर दैनिक ३०० जना आन्तरिक पर्यटक आउने गरेका छन । लकडाउन र त्यसपछिको निषेधाज्ञको समयमा पर्यटकको संख्यामा केही कमी आएपनि अहिले भने बाक्लो उपस्थिति देख्न सकिन्छ । शहरबाट छोटो दुरीमै प्रकृति नियाल्न सकिने भएका कारण कोरोना महामारीका बीचमा पनि सिन्ती झरनाका पर्यटक आगमन बढेको हो ।पूर्व पश्चिम राजमार्गको टाँडी बजारबाट १८ किलोमिटरको दुरीमा शक्तिखोरको दोगरा पुग्न सकिन्छ । दोगरामा सवारी साधन पार्किङ गरी त्यहाबाट साढे दुई किलोमिटर पैदल यात्र गरेपछि सिन्ती झरना पुगिन्छ ।

कोरोना महामारीका बीचमा पनि दैनिक ३०० भन्दा बढी पर्यटक झरना अबलोकनका लागि आउने गरेको कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ (गोपि)ले बताए । जिल्ला भित्र र छिमेकी जिल्लाहरुबाट पर्यटकहरु आएका छन । खैरहनीबाट आइतवार सिन्ती झरना अबलोकन गर्न पुगेकी शर्मिला वाग्लेले झरना पुग्दा निकै आनन्दीत भएको बताइन् ।झरना अबलोकनको लागि बच्चा देखि बृद्धा सम्म आउने गरेका छन । पछिल्लो समय लोकप्रिय बनेको टिकटक बनाउन र सेल्फी खिच्नकै लागि युवायुवतीहरु झरना सम्म पुग्ने गरेको पाइएको छ । लकडाउन खुलेसंगै झरना अबलोकन गर्ने पर्यटकको संख्या बढेपछि स्थानीय लक्ष्मण प्रजाले झरना जाने बाटो छेउमा किराना पसल सञ्चालन गरेका छन् । झरना अबलोकन गर्न आउने पर्यटकलाई खाजा,पानी,विस्कुट,चाउचाउ विक्री गर्नको लागि उनले होटल सहित सयुक्त पसल सुरु गरेका हुन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनले पसलबाट दैनिक १ हजार ५०० रुपैया सम्म कमाउने गरेको उनले बताए ।सिन्ती झरनालाई लक्षित गरेर स्थानीयबासीहरुले एक दर्जन बढी होटल तथा रेस्टुरेन्ट सञ्चालन गरेका छन । पर्यटकलाई लक्षित गरेर सुरु गरिएको पसल र होटलले स्थानीयको जिविकोपार्जनमा सहयोग मिलेको मेयर श्रेष्ठले बताए । सो झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न कालिका नगरपालिकाले डिपीआर बनाएरै काम सुरु गरेको छ ।

गत आर्थिक बर्षबाट काम सुरु भएको र अहिले सम्म साढे दुई किलोमिटरमा रुट,शौचालय र कपडा फेर्ने घर निर्माण भइरहेको कालिका नगरपालिकाका इन्जिनियर राजेश कोइरालाले बताए । सिन्ती झरनाको विकासको लागि एक करोड रुपैया बजेट रहेको छ । सिराइचुली र उपरदाङगढीको आधार क्षेत्रमा रहेको सो सिन्ती झरनाले पर्यटकको बसाइ लम्ब्याउन सक्ने सम्भावना नगरपालिकाले देखेको छ ।झरना नजिकै पर्यटकीय होटलहरु सञ्चालन गरेर एक रात पर्यटकलाई झरनामै राख्ने दीर्घकालिन योजना रहेको नगरपालिकाका इन्जिनियर कोइरालाले बताए । आइतबारनै झरना पुगेका कालिका नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरिले शहरबाट नजिकैको प्राकृतिक दृश्य अबलोकन गर्न सकिने भएकाले यो क्षेत्र पर्यटकिय गन्तव्यको रुपमा बिकास हुने बिश्वास व्यक्त गर्छन् ।

प्रतिक्रिया