वीपी प्रतिष्ठान सुधार्न दबाब समूह गठन

  • भरतराज शर्मा (गाेपाल)

धरान । उपकुलपति र उनका स्वकीय सचिव दिलिप भट्टराईको कोपभाजनमा परेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार्न धरानका नागरिक समाज एकत्रित भएका छन् ।

धरानबासी कोरोना संक्रमणको कहरमा तड्पिरहेको बेला प्रतिष्ठानका उपकुलपति र तिनका सल्लाहकारले कोभिड –१९ अस्पताल सञ्चालनका नाममा ‘लूटतन्त्र’ मच्चाएका छन् । धरानमै रहेर पनि धरानबासीको स्वास्थ्य सुरक्षाप्रति प्रतिष्ठान जिम्मेवार नभएको र प्रतिष्ठान दिनप्रतिदिन कमजोर बन्दै गएकाे भन्दै प्रतिष्ठान सुधार्न धरानबासीहरु जुर्मुराएका हुन् ।

प्रतिष्ठानका पदाधिकारी खासगरी उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी तथा उनका स्वकीय सचिब दिलिप भट्टराईले कोरोना उपचारको नाममा संघ र प्रदेश सरकारले उपलब्ध गराएको साढे १२ करोड रुपैयाँ ‘बालुवामा पानी’ हाले सरह बनाएका छन् ।

कोरोना संक्रमितहरुले भेन्टिलेटर र अक्सिजन भएको बेड समेत नपाएर अन्यत्र जानुपर्ने बाध्यता सिर्जना गरिएकाे छ । प्रतिष्ठानमा लेवल–३ कोभिड अस्पताल भनिएपनि भेन्टिलेटर र अक्सिजन समेत छैन । भएका भेन्टिलेटर पनि नचल्ने अवस्थाका छन् । पछिल्लो समय स्वयम् धरानबासीहरुले प्रतिष्ठानमा बेड नपाएर ज्यान गुमाउन थालेपछि धरानेहरु प्रतिष्ठानलाई सुधार गर्न तातिएका हुन् ।

नेकपाका नगर इन्चार्ज चोत्लुङको पहलमा दुई दिन अघि होटल ड्रिमल्याण्डमा सर्वपक्षीय तथा सर्वदलीय बैठक बसेर वीपी प्रतिष्ठानको बेथिती अन्त्य गर्न सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाको अध्यक्षतामा १०१ सदस्यीय ‘वीपी प्रतिष्ठान सुधार दबाब समूह’ गठन गरिएको छ । समग्र प्रतिष्ठानको सुधारको लागि उक्त समुहले पहल गर्ने भनिएको छ ।

खासगरी प्रतिष्ठानभित्र हुने राजनीति, भ्रष्टाचार र स्वास्थ्य सेवाका सवालमा यो समुहले प्रतिष्ठान व्यवस्थापनलाई दबाब दिनेछ । समुहमा धरानमा रहेका सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका अध्यक्षहरु, स्थानीय बुद्धिजिवि, राजनीतिक दल, पत्रकारहरु सामेल छन् । समितिका सदस्य सचिवमा अभियन्ता एवं पत्रकार महेश श्रेष्ठ छन् ।

समुहको ९ सदस्यीय स्टेरिङ कमिटि पनि रहेकाे छ । उक्त कमिटिमा अध्यक्ष सापकोटासँगै सदस्य सचिव श्रेष्ठ, प्रा.डा.राजेन्द्र शर्मा, किशोरकुमार कार्की, सुजेन्द्र तामाङ, ताजुब लिम्बु, सञ्जुहांग लिम्बु, सविता राई र चेतना सेरेङ रहेका छन् ।

विगतमा पनि प्रतिष्ठानमा भएका विकृति विसंगति अन्त्यका लागि नागरिक स्तरबाट यस्तो समुह गठन गरिएको थियो । २ दिनअघि बसेको सर्वपक्षीय भेलाले प्रतिष्ठान सुधारको लागि दबाब सिर्जना गर्ने र त्यसको लागि भद्र अवज्ञा लगायतका विभिन्न गतिविधिहरु गर्ने निर्णय गरेको छ । ‘सबै प्रकारका नागरिकले स्वास्थ्य सेवा सुविधा पाउनुपर्छ भन्ने मुख्य माग हो । त्यसको लागि भद्र अवज्ञा गर्ने भनेका छौँ’ डा. राजेन्द्र शर्माले भने । समूहको भोलि शनिबार पुनः बैठक बस्नेछ ।

उक्त बैठकले भद्र अवज्ञा के हो, कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने तय गर्ने बताइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ‘नगाह’मा उपकुलपति भएर प्रतिष्ठान आएका विराट मेडिकल कलेजका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई कमाउ धन्धा मच्चाएका छन् । धरानका एक मेडिकल व्यापारीसँगको साँठगाँठमा डा. गिरी र उनका स्वकीय सचिव दिलिप भट्टराईले कोरोना अस्पतालमा खरिद गरीएका स्वास्थ्य सामग्रीमा लाखौं भ्रष्टाचार गरेको आरोप छ । प्रतिष्ठानले द मेडिकल सोलुसन प्रालि. मार्फत खरिद गरेको आठ वटा भेन्टिलेटर सञ्चालनमा आएको दुई महिनामै बिग्रिएपछि कोरोना संक्रमित बिरामीको बेहाल भएको छ ।

१ करोड ५९ लाख ५५ हजार ६ सय रुपैंयामा २ वर्षको वारेण्टी सहित खरिद गरीएको भेन्टिलेटर जडान गरिएको २ महिनामै विग्रिएपछि भेन्टिलेटर खरिदमा चलखेल भएको आरोप छ । प्रतिष्ठानको कोभिड अस्पतालमा रहेको भेन्टिलेटरहरु सफ्टवेरकै कारण खराब भएको एक चिकित्सकले नाम नबताउने शर्तमा भनेका छन् । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आवश्यक कागजात झिकाएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया