वीपीकाे काेभिड अस्पतालमा ८ वटा भेन्टिलेटरबाट हुँदैछ काेराेना संक्रमितकाे उपचार

  • भरतराज शर्मा (गोपाल)

धरान । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे कोभिड अस्पतालमा ८ वटा भेन्टिलेटरबाट काेराेना संक्रमितकाे उपचार भइरहेकाे प्रतिष्ठानका निर्देशक प्रा. डा. गौरीशंकर साहले बताएका छन् ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको निर्देशनमा आज कोभिड अस्पतालको आकस्मिक निरिक्षण गर्दै भेन्टिलेटर र बेडको अवस्था निर्देशक साहले बुझेका हुन् । प्रतिष्ठानको कोभिड अस्पतालको सामग्री बिग्रिएकाे र बिरामीको राम्रो उपचार र हेरचाह नभएको भन्ने अफवाह फैलिएका कारण अस्पतालको अवस्था बुझ्नका लागी निरिक्षण गरीएको उनले बताए ।

साहले भने, ‘हामी आज निरिक्षणमा गएको बेला ८ वटा नै भेन्टिलेटरले काम गरिरहेको थियो । कोभिड अस्पतालको कन्ट्रोल रूममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गम्भीर प्रकृतिका बिरामीको स्वास्थ्य जाँच गरिरहेका थिए ।’

यस्तै अस्पतालको प्रत्येक बेडमा अक्सिजनको पाईपलाईन पुर्याउने कार्य भइरहेको समेत उनले जानकारी दिए । अबको १०/१२ दिनमा मेन अक्सिजन प्लान्टबाट पाईपलाईनिङ गरी सिधै कोभिड अस्पतालमा पुर्याउने उनले बताए ।

‘दशैं लगतै हामी कोभिड अस्पतालको सुधारमा लागिरहेका छौँ’, उनले भने, ‘अस्पताल बाहिर भने केही फोहोरहरू रहेकोले त्यसलाई नियमित सरसफाई गरी त्यसको समेत उचित व्यवस्थापनका लागी निर्देशन दिएको छु ।’

प्रतिक्रिया