राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डल कसरी भयो बन्द ? सञ्चार विज्ञ भन्छन् – साइबर आक्रमणको प्रयास

काठमाडौँ । राष्ट्रपति कार्यालयको ट्विटर ह्याण्डल बन्द भएको छ । राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको शीतल निवास नामक ट्विटर अकाउन्ट बन्द भएपछि सञ्चार विज्ञहरूले भने साइबर हमला भएको बताएका छन् ।

शीतल निवासले साइबर हमला भएको बताउँदै ट्विटर ह्याण्डल केही दिनका लागि बन्द भएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले साइबर आक्रमणको प्रयास भएकाले गलत सन्देश जान सक्ने भन्दै खाता निष्क्रिय बनाइएको जानकारी दिएको छ ।

यस अघि प्रधानमन्त्री कार्यालयको अफिसियल ट्विटर ह्याण्डलमा पनि यस्तै समस्या आएको थियो । त्यही दिन प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयको ट्विटरको पासवर्ड दुरुपयोग भएको ट्विटमार्फतै जानकारी दिएका थिए ।

तर, प्रधानमन्त्री कार्यालयको ट्विटरको पासवर्ड दुरुपयोग गर्ने कार्य कोबाट हुन गयो भनेर अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । यो प्रकरण सेलाएर गएपछि राष्ट्रपति कार्यालयको ट्विटर ह्याण्डल पनि बन्द भएको छ ।

राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले भने, “अहिलेका लागि खाता निष्क्रिय बनाइएको छ, एक दुई दिनमै यसलाई पूर्ववत् सञ्चालनमा ल्याउँछौँ, राष्ट्रपति कार्यालयले कुनै रिट्विट गरेको छैन । त्यसरी गर्न मिल्दैन पनि ।”

राष्ट्रपति कार्यालयका खाता ह्याक भएको नभई आक्रमण प्रयास मात्रै भएको ढकालको भनाइ छ ।

प्रतिक्रिया