जर्मन क्लबसँग रियल म्याड्रिडको बराबरी, लिभरपुलको लगातार जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग २-२ गोलको बराबरी खेलेको हो ।

रियल म्याड्रिडले अन्तिम ५ मिनेटमा दुई गोल गर्दै खेल बराबरी गरेको हो । रियलका लागि कासेमिरोले खेलको ९३औ मिनेटमा गोल गर्दै हारबाट बचाएका हुन् । यसअघि मोन्चेनग्लाडवाचका लागि मार्कस थुरामले खेलको ३३औ र ५८औ मिनेटमा गोल गर्दै रियलमाथि २-० को अग्रता लिएको थियो ।

रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा संघर्षपूर्ण बराबरीमा रोकिएको छ । समूह बी रियलको २ खेलमा एक अंक भएको छ भने मोन्चेनग्लाडवाचको २ अंक भएको छ ।यस्तै लिग अन्तर्गत समूह डीको शीर्ष स्थानमा रहेको लिभरपुलले जितलाई निरन्तरता दिएको छ । लिभरपुलले एफी मिड्टजील्याण्डलाई पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोल रहित बराबरी खेलेको एफीले दोस्रो हाफमा २ गोल खाएको हो । घरेलु मैदामा लिभरपुलका डिओगो जोटा र मोहम्मद सालहले एक एक गोल गरे । लिभरपुलका लागि ५५ औँ मिनेटमा जोटा र इन्जुरी समयमा पेनाल्टीको अवसर सदुपयोग गर्दै सलहले गोल गर्दै २-० को जित निश्चित गरेका हुन् । लिभरपुल ६ अंकसहित समूह डीको शीर्ष स्थानमा छ ।

अर्काे खेलमा म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा फेरान टोरेज, इके गुनडोगन र रहीम स्टरलिङले एक एक गोल गरेका छन् । सिटीको च्याम्पियन्स लिगमा यो लगातार दोस्रो जित हो । यस अघि पोर्चुगलको क्लब पोर्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितसँगै सिटीको २ खेलमा ६ अंक भएको छ ।

प्रतिक्रिया