डब्लूएचओले भन्यो- ‘संक्रमितको मृत्युदर बढ्यो, अब कडा कदम चालौं’

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ४२ लाख नाघेको छ भने ११ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ४२ लाख ३४ जार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ७१ हजार २७२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड २४ लाख ४२ हजार ९४८ जना कोरोना मुक्त भएका छन् ।

डब्लूएचओ भन्छ- संक्रमितको मृत्युदर बढ्यो
करीब तीन महीनापछि विश्वमा एकैदिन कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार सात हजार नाघेको छ । यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृत्यु भएको थियो ।

अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो । विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त दिन आठ हजार ५१४ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

हिजो सबैभन्दा धेरै अमेरिकामा १०३७ जनाको मृत्यु भएको छ । अक्टोबरमा दोस्रोपटक अमेरिकामा मृतकको संख्या एकैदिन एक हजार नाघेको हो । यसअघि २१ अक्टोबरमा एक हजार २२१ जनाको मृत्यु भएको थियो । त्यस्तै मंगलबार ब्राजिलमा ५३०, फ्रान्समा ५२३ र भारतमा ५१९ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित र मृतकको संख्या अकस्मात बढ्न थालेको हो । त्यहाँ राष्ट्रिय आपतकाल लगाइसकिएको छ ।

यूरोपमा कोरोना भाइरसको संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड्स र रुसमा संक्रमितसँगै मृत्यु हुनेको संख्या एक तिहाईले बढेको डब्लूएचओकी प्रवक्ता डा. मारगेरेट ह्यारिसले बताएकी छन् ।

उनले यूरोपमा खतराको घण्टी बज्न लागेकाले सचेत हुनुपर्नेमा जोड दिएकी छन् । डा. ह्यारिसका अनुसार गएको एक हप्तामै संक्रमितको संख्या एक तिहाईले बढेको र ज्यान गुमाउनेको संख्या झण्डै ४० प्रतिशतले बढेको पाइएको छ । स्वास्थ्य सेवा राम्रा भएका देशमा अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना भइरहेको उनको भनाइ छ ।

उनले यूरोपका विभिन्न देशले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लागु गरेका नयाँ प्रतिबन्धले संक्रमितसँगै ज्यान गुमाउनेको संख्या घट्नेमा विश्वास व्यक्त गरेकी छन् । संक्रमित घट्नका निम्ति भने केही समय कुर्नुपर्ने उनको भनाइ छ ।

अब कडा कदम चालौं !
यस्तै डब्ल्यूएचओले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ । सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ ।

तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए ।

अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्यूएचओले जनाएको छ । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो । महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका थिए ।

प्रतिक्रिया