आईपीएल: हैदराबादसँग दिल्लीको लज्जास्पद हार

काठमाडौं । सनराईजर्स हैदराबादले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि रिषव पन्तले सर्बाधिक ३६ रन बनाए भने अजिख्य रहानेले २६, तुषार देशपाण्डेले २०, शिमरन हेटमायेरले १६ रन बनाए ।

दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन् । जसमा शिखर धवन ०, मार्कोस स्टोइनिस ५, कप्तान श्रेयस अय्यर ७, अक्सर पटेल १, कगीसो रबाडा ३, आर आश्विन ७ र एनरीच नोर्त्जेले १ रन बनाएका थिए ।

हैदरावादका बलरले उत्कृष्ट बलिङ गरेका थिए । रशिद खानले ४ ओभरमा केबल ७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए भने सन्दीप शर्मा र टी नटराजनले २-२ विकेट लिए । त्यस्तै शहबाज नदीम, जासन होल्डर र विजय शंकरले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा २ विकेट गुमाउदै २२० रन बनाएको थियो । हैदरावादका लागि कप्तान डेविड वार्नर र रिद्धिमान शाहले उत्कृष्ट ब्याटिंग गरेका थिए । रिद्धिमान शाहले ४५ बलमा ८७ रन बनाए भने वार्नरले ३४ बलमा ६६ रन बनाएका थिए ।

त्यस्तै मनिष पाण्डेयले ३१ बलमा आक्रामक ४४ रन बनाएका थिए भने केन विलियम्सन अविजित ११ रन बनाएका थिए । दिल्लीका बलर एनरीच नोर्त्जे र आर आश्विनले एक एक विकेट लिएका थिए ।

यो हारसँगै दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हारसहित तेस्रो स्थानमा झरेको छ । मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ भने बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया