भारतीय सेनाध्यक्षले मानार्थ प्रधान सेनापति दर्जा पाउने, प्रधानमन्त्रीसँग पनि भेट गर्ने

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथी दर्जा पाउने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको कात्तिक १९ गतेदेखि २१ गतेसम्म हुने भ्रमणबारे आज जानकारी गराएको हो। नरवणेसँगै चार सदस्यीय भ्रमण दल नेपाल आउन लागेको सेनाले जनाएको छ।

सेनाका अनुसार नरवाणे नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन्।

नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतको मानार्थ सेनाध्यक्ष हुन्छन् भने भारतका सेनाध्यक्ष नेपालका मानार्थ प्रधानसेनापति हुन्छन्।

भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै नरवणेले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्ने जनाइएको छ ।

प्रतिक्रिया