‘चलचित्रमा काम पाउँदा मात्रै दशैं आएजस्तो लाग्छ’ सुरवीर पण्डित

सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा‘दारी बा’ को भूमिकाबाट कलाक्षेत्रमा चिनिएका हुन् सुरवीर पण्डित । म्युजिक भिडियो, टेलिश्रृंखला, चलचित्रमासधैँ गरीब या मध्यमवर्गीय भूमिकामा देखिन्छन् उनी ।

दशैं, तिहारका गीतमा पनि उनको भूमिका उही हुन्छ– गरीब । निरिह । सज्जन । वास्तविक जीवनमा पनि यस्तै छन् उनी, सज्जन । भलाद्मी । मिजासिलो । तर बाल्यकालमा भने अलिकति फरक थिए ।

बूढानीलकण्ठको मुहानपोखरी आसपासका रैथाने बासिन्दा ५२ वर्षीय कलाकार सुरवीर बाल्यकालमा अलिकति चञ्चल, चकचके, जिज्ञासु स्वभावका थिए । पढ्नमा भन्दा बदमासी गर्नमा खप्पिस ।

साथीभाइको लहलहैमा लागेर डुलेर हिँड्थे, पढ्नमा खासै मेहनत गर्दैनथे । घरको चामल चोरेर बेच्थे अनि सिनेमा हेर्न जान्थे । भाइहरुलाई पिट्थे पनि ।

रमाइला स्वभावका उनलाई चाडपर्व झनै रमाइलो लाग्थ्यो । अलि बुझ्ने भएपछि उनी दशैंको नौरथामा व्रत समेत बस्थे । जमारामा आफैँ पूजा गर्थे ।

‘बच्चामा चाडपर्व रमाइलो लाग्थ्यो । दशैं त झनै खास हुन्थ्यो । बा’ले खसी–बोका ल्याउनुहुन्थ्यो । त्यसलाई चराउन म नै लैजान्थेँ’, बाल्यकालको दशैं सम्झँदै सुरवीर भन्छन्– ‘नयाँ लुगा ल्यादिनुहुन्थ्यो, त्यो पाउँदा एकदमै खुशी भइन्थ्यो । घरसर लिपपोत पनि गरिन्थ्यो ।’

दशैंमा टिका लगाउन हजुरआमासँग मामाघर जान्थे सुरवीर । दक्षिणा बटुलेर हजुरआमालाई नै राख्न दिन्थे । स्मृतिका रिलमा धुमिल छन् दशैंका धेरै अनुभव, तर सम्झना भने खासै क्लियर छैनन् ।
उमेर बढ्दै गएपछि धेरैको दशैं रहर होइन, बाध्यता बनिदिन्छ । सानोमा चाडपर्वमा जति नै चाख लागेपनि विस्तारै त्यो हराउँदै जान्छ । जिम्मेवारीहरु थपिन्छन् । थपिएका जिम्मेवारीहरुले पनि दशैंको स्वाद त्यति लिन दिँदैन जति सानोमा लिइन्छ ।

बाल्यकालमा आफ्ना हरेक रहरहरु आमा–बुवाले पुर्याइदिन्थे भने ठुलो भएपछि घर–व्यवहार आफैँले धान्नुपर्छ, अरुका रहर पुर्याउनुपर्छ । त्यसैले पनि होला आजभोलि दशैं खासै मन पर्दैन उनलाई । पाँच वर्षमा एक पटक मात्रै आएपनि हुन्थ्यो भन्ने लाग्छ । काम पाउँदा भने सधैँ दशैं आएजत्तिकै लाग्छ रे !

उनी भन्छन्– ‘मलाई दशैं, तिहार खासै मन पर्दैन । चलचित्र, म्युजिक भिडियो, टेलिश्रृंखलामा काम पाएँ भने जुनसुकै महिना किन नहोस्, त्यही बेला दशैं आएजस्तो लाग्छ । दशैं आएपछि भएको काम पनि रोकिन्छ, त्यसैले मन पर्दैन ।’

पछिल्लो समय उनको परिवारमा मासु खाने सदस्य कमै छन् । बजारबाटै थोरै किनेर ल्याउँछन् । घरमा काटमार गर्दैनन् । अहिले काम ठप्प भएका कारण उनलाई दशैं आएजस्तो महशुष भएको छैन ।

अरुलाई पनि जस्तो छ, त्यस्तैमा खुशी भएर दशैं मनाउन सुझाव दिन्छन् उनी । भन्छन्– ‘दशैं सबैलाई घरमै मनाउन सुझाव दिन्छु । डुल्ने, हिँड्ने पहिलेजस्तो वातावरण अहिले छैन । कोरोनाबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।’

कसरी भयो कलाकारितामा सुरवीरको इन्ट्री ?

सानोमा कलाकार बन्छु भन्ने सोचेकै थिएनन् उनले । साथीहरुको संगतमै रमाइरहेका उनी एकदिन भान्दाइसँग उनको ससुराली गए । ससुरालीबाट फर्किंदा भान्दाइले‘सिन्दुर’ फिल्म देखाए ।

सिनेमा हेरेपछि उनी अचम्ममा परे, मनमा जिज्ञासाको छाल उठ्यो– ‘यो सिनेमा भनेको के होला । यसमा खेल्नेहरु मान्छे नै हुन् कि, भगवान हुन् कि ।’

त्यो जिज्ञासाले फिल्म् खेल्ने रहरत पलायो तर कला क्षेत्रमा आउन भने सजिलो थिएन । त्यतिबेला कलाकार बन्न पढे–लेखेको, सम्पन्न हुनुपर्छ भन्थे सबैले । किनकी सिनेजगतमा कलाक्षेत्रबारे बुझाउने र बुझेका परिवार, आफन्त कोही थिएनन् उनको ।

तर कलाकारिताको हुट्हुटीले उनलाई शान्तले बस्नै दिएन । एक पटक कोशिस गर्छु भन्ने लाग्यो र निर्माता, निर्देशकको ढोका ढक्ढकाउन पुगे ।

काठमाडौंको स्थानीय बासिन्दा भएकाले बाहिरबाट आएर, कोठाभाडा तिरेर संघर्ष त गर्नु परेन उनले तर कलाकारितामा स्थापित हुन भने दुःखका धेरै पापड बेल्नुपर्यो ।

घरमा बाबु–आमालाई सघाउन छोडेर मकै, रोटी अथवा केही छैन भने चना भिजाएर झोलामा हालेर निर्माताहरुकहाँ पुग्थे र भन्थे –कलाकार बन्न चाहन्छु ।

विभिन्न कलाकार, निर्देशकहरुलाई भेट्ने क्रममा भागदौड गर्दैगर्दा उनी कृष्ण मल्ल र रमेश बुढाथोकी नजिक पुगे । उनीहरुले त्यतिबेला नाटक, टेलिफिल्महरु बनाउँदै थिए । ०४३ सालमा उनले कलाकार बन्ने पहिलो अवसर पाए ।

टेलिनाटक ‘कोसँग जुधौं’ मार्फत् पहिलोपटक आफ्नो अभिनय यात्रा शुरु गरेका सुरवीरले चलचित्र, टेलिश्रृंखला, रेडियो नाटक, म्युजिक भिडियो धेरै खेले । तर नाम र दाम भने ‘मेरी बास्सै’ ले दिलायो । अहिले पनि उनी मेरी बास्सैको क्यारेक्टर ‘दारी बा’ बाट चिनिन्छन् ।

कलाकारितामा संघर्ष गर्दै बुवा–आमाकै कमाइमा बाँचिरहेका उनले मेरी बास्सैदेखि भने आम्दानीको स्रोत बढेर परिवारलाई सघाउन समेत थालेका थिए।
चलचित्र, टेलिचलचित्रमा दुःखी भूमिकामा देखिने उनलाई मेरी बास्सैको पात्रसँग आफ्नो जीवन केही हदसम्म मेल खान्छ भन्ने लाग्छ । मध्यम वर्गीय किसान परिवारका उनको तीन छोरी र एक छोरा छन् ।

बाल्यकाल सुखी भएपनि ठुलो हुँदै जाँदा उनको जीवनमा धेरै उत्तरचढावहरु आए । यसको कारण काम लगाएर पारिश्रमिक दिने बेलामा गायब हुने निर्माताहरू भएको उनको भनाइ छ ।

०३४ सालदेखि कलाकारितामा लागेका उनको पेसाबाट बुवा–आमा, परिवार अझै पनि त्यति खुशी छैनन् । बुवा–आमाको इच्छा उनलाई सरकारी जागिरे बनाउने थियो । अहिले उनलाई पनि कताकता मनमा लाग्छ– ‘कलाकारितामा लागेर गल्ती पो गरेँ कि !’

प्रतिक्रिया