मुसहरलाई एक छाक !

ध्रुवराज खनाल-

चितवन । माछा मार्न पाए बिहान बेलुकाको छाक टार्न पाउने नत्र भोकै बस्नु पर्ने खैरहनी कठारका माझी मुसहरको मुहारमा शनिवार केही फरकपन देखियो । दुई छाककै लागि सङ्घर्ष गर्नु पर्ने बाध्यता उनीहरूमा छ ।

त्यसो त नेपालीहरूको ठूलो चाडमा मिठो मसिनो खाने रहर जो कसैलाई पनि हुन्छ । उनीहरूले दसैँका बेला मीठो खान पाउने सोचेका समेत सायदै थिएनन् । तर शनिवार उनीहरूको मुहार हँसिलो मात्र देखिएन एक छाक भए पनि मीठो खान पाउँदा दङ्ग परे । उनीहरूका लागि भरतपुरका युवाहरूको टोलीले एक छाक खाना खाने बन्दोबस्त गरेको हो ।

मकालु खबर अनलाइनमा शुक्रवार मात्रै ‘मुसहरको दसैँ :मन अमिलो, चामलको बोरा रित्तो’ शीर्षकको समाचार प्रकाशन भएको थियो । त्यसैकै प्रभावले यहाँका मुसहरले एक छाक भए पनि मीठो खाने मौका पाए ।

सबै जना आआफ्नो सुरमा चाड मनाउन व्यस्त भएको बेला एक छाक भए पनि कसैले यही आएर पकाएर खान दिँदा खुसी लागेको स्थानीय गीता माझिले खुसी प्रकट गरिन् ।

अहिलेको परिस्थितिमा काम गर्न जान काम नपाइएको, माछा मारेर दैनिक गुजारा चलाउँदै आएतापनि दसैँको मुखमा एक छाक खानका निम्ति धौ धौ भएको खबरले निकै दुखी बनाएकाले उनीहरूका लागि एक छाक भए पनि खाना खुवाइएको युवाहरूको टोलीकी सदस्य सबिना कँडेलले बताइन् ।

युवाहरूले खाना मात्र खुवाएनन् केही लत्ताकपडा समेत प्रदान गरेर फर्किए ।

हामीलाई देख्दा उनीहरूको आँखामा जुन खुसी देखियो त्यो शब्दमा बयान नै गर्न सकिँदैन कँडेलले भनिन् एक छाक खान कठिन त्यो समुदायका साना साना बाबु नानीको लुगा किन्ने बारे त झन् सोच्न सक्थेनन् । लुगा ल्याएको थाहा पाएपछि त उनीहरूमा खुसीको सीमा नै रहेन।

युवाहरूले बिहानको खाना सङ्गै बसेर खाए, नाचगान गरे बेलुकाको लागि पनि थोरै भए पनि चामल छोडेर फर्किएको कँडेलले सुनाइन् ।

कठारमा २८ घरधुरी मुसहर समुदायको बस्ती छ । जहाँ खैरहनी नगरपालिकाले पक्की घर बनाइदिएको छ । माछा मारेर ल्याई बेच्ने र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नु उनीहरूको मजबुरी हो ।

प्रतिक्रिया