भर्चुअल दसैं डिजिटल दक्षिणा, बैंकले ल्याए ‘दक्षिणा अफर’

काठमाडौं । कोरोनाको कारण भिडभाड नगर्न र धेरै मान्छे एकै ठाउँमा जम्मा हुन सरकारले रोक लगाएको छ । कोरोनाको कारण करिब ७ महिना बन्द भएको बजारमा सामान्य चहलपहल सुरु भएको छ ।

दसैं भन्ने वित्तिकै नेपालीहरुको मनमा घर जाने र परिवार आफन्त भेटघाट र रमाइलो भन्ने सोच आउँछ । तर, यस वर्षको दसैं त्यस्तो नहुने भएको छ । सरकारले पनि आफु बसेकै स्थानमा दसैं मनाउन आग्रह गरेको छ ।

सहरमा नै बसेर भर्चुअल दसैं मनाउदै डिजिटल माध्यमबाट दक्षिणा ग्रहण गर्ने मनसायमा सर्वसाधारणहरु छन् । विभिन्न सामाजिक सञ्चालमार्फत भिडियोको सहायताले दसैंको टिका लगाएर कोरोनाबाट सुरक्षित रहन सकिन्छ । दसैंको दक्षिणा भने विभिन्न डिजिटल माध्यमबाट दिने प्रचलन बढेको छ ।

गाउँघरमा बुढाबुढी हजुरबा हजुरआमा, बुवा आमा र आफन्तहरुलाई कोरोना सर्ने वा उनीहरुबाट पनि आफुमा कोरोना सर्ने डरका कारण यसवर्ष भर्चुअल दसैं हुने भएको हो ।

कोरोनाका कारण भर्चुअल विवाह भएको थियो । भने, विदेशमा परिवार नै लिएर गएका नेपालीहरुले भर्चुअल माध्यमबाट न्वारन, पुजाआज र श्राद्ध समेत गर्ने गरेका थिए । यस वर्ष नेपालमा भएकाहरुले पनि फेसबुक र भाईबर लगायतबाट टिका लगाई आफुभन्दा ठूलाबडा बाट आशिर्वाद लिने र मोबाइल वालेट, मोबाइल बैंकिङ, डिजिटल वालेट, इ सेवा, सेल पे, इन्टरनेट बैकिङ र फोन पे बाट दक्षिणा लिने/दिने गर्न सक्छन् ।

बैंक तथा डिजिटल वालेटहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न अफरहरु समेत ल्याएका छन् ।

कुन बैंकबाट दक्षिणा दिँदा कस्तो अफर

बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, मेगा बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकले फरक–फरक दक्षिणा अफर ल्याएका छन् । कोरोनाबाट जोगिन बैंकहरुले दक्षिणा अफर ल्याएका हुन् । पैंसाबाट पनि कोरोना सर्ने डर उत्तिकै रहेको विज्ञहरु बताउँछन् ।

बैंक अफ काठमाण्डूले यस्तै योजना ल्याएको छ । बैंकका ग्राहकले तीन पटक भिन्न भिन्न ब्यक्तिलाई मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गरेमा ३०० रुपैयाँ नगद उपहार दिने जनाएको छ । बैंकले दक्षिणाको दर न्यूनतम १००० वा सो भन्दा बढी हुनुपर्ने जनाएको छ ।

मेगा बैंक नेपालले दसैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ अफर ल्याएको छ । बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिने व्यक्तिलाई बैंकले तीन सय रुपैयाँ दक्षिणा दिनेछ । दक्षिणाबापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’ गर्नेछ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने अफरमा ग्राहकहरुले तीन वटा खातामा न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ । तीन पटक गरी १५ सय दक्षिणा दिनेले ३ सय रूपैयाँ क्यासव्याक पाउने छन् ।

एनआईसी एशिया बैंकले दसैंमा आफन्तजनलाई दिने दक्षिणा मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म आफ्नो तर्फबाट थप गरिदिने छ । बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । ५०० रुपैयाँ पाउँनको लागि कम्तिमा ५ हजार दक्षिणा भुक्तानी गर्नुपर्नेछ ।

सिद्धार्थ बैंकले कार्तिक १० देखि कार्तिक १४ गतेसम्म कारोबारको विवरणमा ‘दक्षिणा’ लेखी तीन पटक रकम (न्यूनतम १०० रुपैयाँ) ट्रान्सफर गर्दा ३०० रुपैयाँ क्यास ब्याक दिने योजना ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना ल्याएको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने छन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिन देखि द्वादशीसम्म तिन पटक गरी रु ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्छन् ।

यसरी दक्षिणा पठाउँदा विवरणमा भने ‘दक्षिणा’ भनी खुलाउनु पर्नेछ । दसैंलाई लक्षितगरि ल्याइएको योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
डिजिटल पेहरुको अफर

प्रभु पेले दसैंमा नयाँ रजिष्ट्रेशन गर्नेलाई ३० रुपैयाँ र अरुलाई रिफर गर्दा समेत ३० रुपैयाँ दिने अफर ल्याएको छ । अनलाइन सपिङको पेमेन्ट गर्दा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यता ईसेवाले दसैंकै लागि भनेर विशेष अफरहरु ल्याएको छ । जसमा उपभोक्ताले हरेक हप्ता मोटरसाइकल उपहार पाउने सम्मका अफर छन् ।

आइएमई पेले दशैंमा रिचार्ज र खरिद बिक्रीमा छुट तथा क्यासब्याक अफर दिएको छ । खल्तीले नेपाल टेलिकमको रिचार्ज गर्दा २ प्रतिशत क्यास ब्याक र १० प्रतिशत बोनसको योजना ल्याएको छ । दसैंमा सेलपेको गेटवेबाट भुक्तानी गर्नेलाई १० प्रतिशतसम्म क्यास ब्याकसहितको योजना ल्याएको छ ।

कोरोनाको कारण सहरका कोठामा बसेर भर्चुअल माध्यमबाट टिका लाउँदा र दक्षिणा लिँदा/दिँदा अघिल्ला वर्षहरुको जस्तो रौनक यस वर्षको दसैं भने हुने छैन । तथापि, कोरोना संक्रमणबाट जोगिने र संस्कृति पनि जोगिने माध्यम भने हो ।

दसैं प्रत्येक वर्ष आउने पर्व हो । यस वर्ष सुरक्षित भएर भर्चुअलबाट दसैं मनाउने हो भने अर्काे वर्ष कोरोनाको माहामारी हटे वा भ्याक्सिन बनेमा गाउँघर गएर दसैं मनाउन सकिन्छ ।

केही स्थानीय सरकारहरुले तत्कालै गरेको पीसीआर रिपोर्ट लिएर मात्रै गाउँ आउन आग्रह गरेका छन् । भने केही पर्यटकीय क्षेत्रले यसवर्ष बाहिरी जिल्लाका आन्तरिक पर्यटकहरुलाई आउन नदिने घोषणा नै गरेका छन् ।

प्रतिक्रिया