मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

१. प्रधानमन्त्री ओली र ‘रअ’बीच भेट भएको पुष्टि प्रमुख
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे पुष्टि गरेका हुन् ।
प्रेस सल्लाहकार थापाले भेटको लागि गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको बताए ।

भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले स्पष्ट पारे ।

बुधबार काठमाडौं आएका गोयल बिहीबार स्वदेश फर्किसकेका छन् ।

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेटवार्ता आपत्तिजनक : भीम रावल
सत्तारूढ नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता आपत्तिजनक रहेको बताएका छन् ।

भारतीय गुप्तचर रअ प्रमुखसँग भेटवार्ता र गोयलको भ्रमण कूटनीतिक मर्यादा विपरीत रहेको उनको भनाइ छ ।

उनले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा नेकपाको विचार, नीति र घोषणा विपरीत रहेको बताएका छन् ।

कोरोना अडेट : ३,२१५ संक्रमित डिस्चार्ज हुँदा ३,६३७ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ८१२ पुगेको छ ।
बिहीबार देशभर ३ हजार ६३७ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै १ हजार ५५२ संक्रमित थपिएका छन् । आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

आज ३ हजार २ १५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना जितेर डिस्चार्ज हुनेको संख्या कूल १ लाख २ हजार ८० जना छन् ।

भोलीदेखि पाँच दिन कोरोना बिफ्रिङ नहुने
भोलीदेखि पाँच दिन कोरोना बिफ्रिङ नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भोलिदेखि लाइभ मिडिया अपडेट नगर्ने जनाकारी दिएका हुन् ।

तर मन्त्रलायको भाइबर ग्रुप र मन्त्रालयको वेबसाइइबाट कोरोना सम्बन्धी जानकारी अपडेट हुने जनाएको छ ।

आगामी बुधबार भने मिडिया बिफ्रीङ थप परिमार्जन गरी प्रसारण हुने डा. गौतमले बताए ।

अबदेखि कोरोना संक्रमण रोकथाम र अन्य जानकारी बिफ्रिङकै समयमा सामाजिक सञ्जालमा अपडेट गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

प्रधानमन्त्रीलाई साझा पार्टीको प्रश्न : रअका प्रमुख भेट्दा मर्यादाको ख्याल भएन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकामा साझा पार्टीले आपत्ति जनाएको छ ।

साझा पार्टीले रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? भनी प्रश्न गरेको छ ।

रअका प्रमुखसँग भएको भेटलाई साझा पार्टीले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भनेको छ ।

साझा पार्टीले यस्तो आचरण रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

वीपी प्रतिष्ठानमा कोरोनाको उपचार गर्दा ७ देखि ६० हजार धरौटी
धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण तथा कोभिड संक्रमितको उपचार शुल्क निर्धारण गरेको छ ।

प्रतिष्ठानले यहि आइतबार देखि लागु हुने गरी पिसिआर परीक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरेको जनाएको छ । भने, कोरोना उपचारका लागि ७ देखि ६० हजारसम्म धरौटी समेत लिने भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ आपतकालिन तथा विपत व्यवस्थापन इकाई, काठमाडौंबाट निर्णय भई कार्यान्वयन गर्नका लागि आएको निर्देशन अनुसार नयाँ निर्णय भएको अस्पतालका निर्देशक डा. गौरीशंकर साहले जनाएका छन् ।

सरकारी स्वास्थ्य संस्थाले निःशुल्क कोरोना संक्रमितको उपचार गर्नुपर्नेमा शुल्क तोकेकोमा नेपाली कांग्रेस प्रदेश १ सरकारका प्रमुख सचेतक केदार कार्कीले आपत्ति जनाए ।

असई र प्रहरी जवान हत्या प्रकरण : मृतकका परिवारलाई प्रदेश सरकारले २/२ लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले गस्तीका क्रममा तस्करहरुबाट मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवालाई जनही २/२ लाख दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

तत्कालका लागि भने परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । बाँकी एक लाख रकम उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने जानकारी दिइएको छ ।

नेप्सेमा साढे आठ अङ्कले वृद्धि
नेप्से परिसूचक आज पनि साढे ८ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ अंकले वृद्धि भई १ हजार ६०६.२५ मा अंकमा पुगेको छ ।

नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई तय गरेको हो । केही दिन पहिले पनि नेप्से १ हजार ६०० को बिन्दुमा पुगेको थियो ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूह मध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर भने उकालो लागेको छ ।

आईपीएलः कोलकातालाई हराउँदै बैंगलोर दोस्रो स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सातौं जित निकालेको छ ।

यूएईको शेख जायद क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लोरले सातौं जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्तालाई हराएसँगै बेङ्ग्लोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरको १० खेलमा ७ जितसहित १४ अंक छ । कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ ।

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु
पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो ।

दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो ।

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो ।

प्रतिक्रिया