मुस्कान सेवा नेपाललाई नेपाल बङ्गलादेश बैंकले ३ लाख रुपैयाँ हस्तान्तरण गर्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्तिक ०६ गते सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुर स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।

सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् । नेपाल बङ्गलादेश बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

गएको करिब दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुर स्थित संस्थाले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको हो ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया