जबरजस्ती करणी गरेको अभियोगमा झापा, धनुषा र सिरहाबाट तीन जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न तीन जिल्लाबाट तीन जना पक्राउ परेका छन् ।

झापामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-२ लालमाटी बस्ने २५ वर्षीय रतन राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित बाँसघारीमा लगेर मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।

यस्तै धनुषामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-१३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता सिरहामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही ठाउँस्थित धान खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया