दसैंका लागि बैंकहरुले ल्याए दक्षिणादेखि विभिन्न अफर, कुन बैंकमा के ?

काठमाडौं । चाडपर्वका लागि बैंकहरुले धमाधम अफर ल्याएका छन् । बैंकले ल्याएका अफरहरु डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने खालका छन् ।कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै बैंकहरुले यस वर्षको दसैंमा व्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दै नगद उपहारको योजना ल्याएको हो ।

कुन बैंकको कति ?

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले स्मार्ट डिजिटल दक्षिणा योजना ल्याएको छ । बैंकका ग्राहकले तीन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गरेमा ३०० रुपैयाँ नगद उपहार दिने जनाएको छ । यो बैंकले दक्षिणको दर न्यूनतम १००० वा सो भन्दा बढी हुनुपर्ने जनाएको छ ।

रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ती फरक–फरक हुनुपर्नेछ । उक्त दक्षिणा प्रदान गर्दा ग्राहकले ३ कारोबार गर्दा १ हजारभन्दा बढी हुनुपर्छ ।

ग्राहक महानुभावहरुले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । ग्राहकले कारोबारको विवरणमा दक्षिणा राख्नुपर्छ ।

मेगा बैंक

मेगा बैंकले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । बैंकले दसैंमा दक्षिणा दिन ‘तीनमा तीन सय’ नामक अफर ल्याएको छ ।
कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ‘डिजिटल दक्षिणा’ योजना ल्याएको हो । यसमा अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउनेछन् ।

त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ ।

दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’को व्यवस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।

दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।

सिद्धर्थ बैंक

सिद्धर्थ बैंकले पनि कार्तिक १० देखि कार्तिक १४ गतेसम्म कारोबारको विवरणमा ‘दक्षिणा’ लेखी तीन पटक रकम (न्यूनतम १०० रुपैयाँ) ट्रान्सफर गर्दा ३०० रुपैयाँ क्यास ब्याक पाइने योजना ल्याएको छ ।

बैंकस्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअपका लागि कार्तिक ६ देखि मंसिर ५ गतेसम्म पहिलो पटक बैंकस्मार्ट एप क्रियाशील गर्दा ५० रुपैयाँको मोबाइल टपअप पाइने छ ।

कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कारोबारको विवरणमा ‘माई फर्ष्ट’ लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत (अधिकतम १०० सय रुपैयाँ) क्यास ब्याक पाइने छ । थप तीन कारोबार गर्दा ३०० रुपैयाँ क्यास ब्याक पाइने छ ।

यस क्यास ब्याक पाउन ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्नेछ । यसैगरी, कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म कम्तिमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफ वान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।

यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यास ब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

 

प्रतिक्रिया