मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दोब्बर

काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितकाे तुलनामा संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । काभ्रेपलाञ्चोकमा बुधबार ३१ संक्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना संक्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ ।

मङ्गलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना संक्रमणमुक्त भएका थिए ।

पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् ।

‘एकै दिन दोब्बर सङ्ख्यामा सङ्क्रमणमुक्त भएको यो पहिलोपटक हो’, पोष्टका सदस्यसचिव एवम् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले भने । उनका अनुसार जिल्लामा हालसम्म ५१५ महिलासहित एक हजार ३४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशत अर्थात् ८३५ संक्रमणमुक्त भएका हुन् ।

हालसम्म कोरोना संक्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो संक्रमण देखिएको थियो । कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत अर्थात् ५२६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३०४ पुरुष र २२२ महिला छन् ।

हालसम्म २३४ पुरुष र १४९ महिला गरी कूल ३८३ जना संक्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल संक्रमितमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय संक्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४०४ होम आइसोलेसनमा उपचाररत छन् । रासस

प्रतिकृयाहरु
Loading...