प्रचण्ड र नेपालकाे सचिवालयले भन्याे – ‘रअ’ प्रमुखसँग भेट भएको खबर भ्रामक !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता नभएको प्रचण्डकाे निजी सचिवालयले स्पष्ट पारेको छ ।

सञ्चार माध्यमहरूमा ‘ प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिआएको ल्ली फर्कने’ भन्ने शिर्षकमा आएको समाचारमा गम्भीर ध्यानाकर्षण जनाउँदै प्रचण्डका प्रेस संयाेजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले उक्त समाचार भ्रामक रहेकाे दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ, ’ उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, –‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’

यस्तै वरिष्ठ नेता नेपालकाे सचिवालयले पनि रअ प्रमुखसँग भेट नभएकाे स्पष्ट पारेकाे छ । नेपालका स्वकीय सचिव मोहन गौतमले स्पष्ट पार्दै भने, पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ ।’

बुधबार दिउँसाे चार्टर्ड विमानमा काठमाडाैं आइपुगेका उनी ८ घण्टा बसेर बेलुकी ९ बजे फर्कने बताइएकाे थियाे । 

उनकाे भ्रमण औपचारिक नभएकाे स्पष्ट पार्दै व्यक्तिगत वा धार्मिक भ्रमणमा आएकाे हुन सक्ने स्राेतकाे भनाइ छ ।

नोभेम्बर पहिलो साता भारतीय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा गाेयल आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यद्यपी भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भने केही बताएको छैन ।

प्रतिक्रिया