लिभरपुलले अजाक्सलाई हरायो, म्यान्चेष्टर सिटीको पुनरागमन जित

काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको विजयी सुरुवात उपहार गोलबाट गरेको छ । बुधबार राति आवे मैदानमा भएको पहिलो खेलमा गोल नै नगरी लिभरपुलले विजयी भएको हो ।

डच क्लब अजाक्सका निकोलास ताग्लिएफिकोले गरेको आत्मघाती गोल उपहार पाएपछि समूह डी मा रहेको लिभरपुलले विजयी सुरुवात गरेको हो ।

खेलको ३५ औँ मिनेटमा अजाक्सका निकोलासको आत्मघातीले लिभरपुललाई जित दिलाएको हो । चोटका कारण गएरातिको खेलमा लिभरपुलका महत्वपूर्ण खेलाडी भर्जिल भान डीजेक मैदान बाहिर थिए ।

बुधबार राति भएको समूह डीको अर्को खेलमा एट्लान्टाले एमफसी मिड्जील्याण्डलाई ४–० ले पराजित गरेको छ ।अर्काे खेलमा म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ । पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो ।

पोर्चुगलको लिग च्याम्पियन पोर्टोले खेलको सुरुवातमै लुइस डियाजको गोलमा अग्रता बनाएको थियो । तर सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।

इल्के गुन्डोगनले ६५ औं मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए । फेरन टोरेसले ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–१ जित दिलाएका थिए । अग्युरोको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका टोरेसले तेस्रो गोल गरेका थिए ।

समूह सीकै अर्को खेलमा ग्रिक क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेलाई १–० ले हरायो । इन्जुरी समयमा हसन महागुबले गोल गर्दै ओलम्पियाकोसलाई तीन अंक दिलाए । च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्दै सिटी र ओलम्पियाकोसले समान ३ अंक जोडेका छन् । पार्टो र मार्से अंक विहिन छन् ।

प्रतिक्रिया