कात्यायनी देवीको आराधना गरिँदै, यस्तो छ पूजा विधि

काठमाडौं । नवरात्रको छैटौँ दिन आज घर-घरमा कात्यायनी देवीको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

अघिला बर्षहरुमा बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको भएपनि यस बर्ष भने कोरोना महामारीका कारण धार्मिक स्थलहरु सुनसान रहेका छन् । विभिन्न तहका प्रशासनले कोरोना संक्रमण फैलिने भन्दै धार्मिक स्थलमा जान प्रतिबन्ध लगाएका कारण सुरक्षित भएर आआफ्नो सुबिधा अनुसार देवीको पुजा गरेर यस बर्ष दशैँ मनाइदै छ ।

उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदैछ । नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

  • दूर्गा कवच मन्त्र-

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया