बार्सिलोनाको सानदार जित, युभेन्ट्सले गर्‍यो सुखद सुरुवात

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । गएराति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५-१ को जित सहित बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए । २५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।

बार्सिलोनाका जेरार्ड पिकेले खेलको ६८औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा मेसीले २७औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६औ सिजनमा गोल गरेर नयाँ किर्तिमान बनाएका छन् ।

यो जितपछि समुह जीमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने यसै समुहमा रहेको युभेन्टसले पनि गएराती जित हासिल गरेको छ । अब बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेल युभेन्टससँग अक्टोबर २९ मा खेल्दै छ ।युभेन्ट्सले गर्‍यो सुखद सुरुवात
इटालियन क्लब युभेन्ट्सले पनि विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा युभेन्ट्सले युक्रेनी क्लब डाइनामो किभलाई पराजित गरेको हो । ​

युभेन्टसको जितका लागि अल्भारो मोराटा चम्किएका थिए । २-० ले विजयी भएको युभेन्टसका लागि दुवै गोल मोराटाले नै गरेका हुन् । ​मोराटाले खेलको ४६ र ८४औ मिनेटमा गोल गर्दै युभेन्टसलाई जिताएका थिए ।

कोरोना संक्रमणका कारण बाहिर रहेका क्रिस्टियानो रोनाल्डो बिना युभेन्टसले च्याम्पियन्स लिगमा राम्रो शुरुवात गरेको छ । जितसँगै युभेन्टसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले अर्को खेल अक्टोबर २९ मा बार्सिलोनाविरुद्ध खेल्ने छ ।

त्यस्तै गएरातिनै लाइप्जिङ, क्लब ब्रुग र लाजियोले पनि आ-आफ्नो खेलमा जित हात पार्दै सुखद सुवात गरेका छन् । चेल्सी तथा रेनेस भने बराबरीमा रोकिएका छन् ।

लाइप्जिङले इस्तानबुल बसाकसेहिरलाई २-० ले हरायो ।​​ लाजियोले बेरुसिया डर्टमन्डलाई ३-१ले पराजित गर्दा क्बल ब्रुगले जेनिट सेन्ट पिटर्सबर्गमाथि २-१ को जित हात पार्‍यो । चेल्सी सेभिल्लासँग गोलरहित बराबरीमा रोकिदा रेनेस र क्रास्नोडरले १-१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया