मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

कर्णाली विवाद : ओली–प्रचण्डको भेटवार्ता सकियो, आजपनि मिलेन कुरा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटमा कर्णाली विवादका बारेमा छलफल तथा सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रमुख सचेतक गुलाबजंग शाह जिम्मेवारीबाट नहट्ने,
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता हुनेलगायतका अन्य विषयमा सहमति भएको थापाले बताए ।

यस्तै अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिनेगरी विवादलाई सल्टाउने सहमति भएको हो ।

गत हप्ताको आइतबार नेकपाकै १८ सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि चर्किएको विवाद योसँगै टुङ्गो लाग्ने संकेत देखिएको छ ।

‘शान्ति र विकासका लागि बिआरआई महत्वपूर्ण’
नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताएका छन् ।

मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताएका हुन् ।
बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष प्रचण्डको भनाइ थियो ।

यस्तै गत वर्ष चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उनले उल्लेख गरेका थिए ।

जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई
जनता सामाजवादी पार्टी (जसपा) ले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सो निर्णय गरेको हो ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन् । यसअघि पार्टी एकीकरण हुनुअघि भट्टराई समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष थिए । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा पनि उनलाई अध्यक्ष बनाउने चर्चा थियो । तर एकतापछि उनी जसपाको वरिष्ठ नेता मात्र थिए । अहिले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको हो ।

बैठकमा भट्टराईसहित राजपामा अध्यक्ष रहेका राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झालगायतको कार्यविभाजनबारे पनि छलफल गर्ने तयारी छ ।

आजको कोरोना अपडेटः थप ८ जनाको मृत्यु, कति संक्रमित थपिए ?
नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा थप ३ हजार ९३ नयाँ संक्रमित थपिँदा २ हजार १ सय ८ जना डिस्चार्ज भएका छन् । आज थपिएका संक्रमितमध्ये १ हजार ७ सय २ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

आजको विवरणसँगै नेपालका कूल संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमितको निःशुल्क उपचार सरकारले गर्नुपर्छ : माधव नेपाल
नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको आरोप पनि उनले लगाएका छन् ।

बरिष्ठ नेता नेपालले विज्ञप्ति प्रकाशित गर्दै सरकारको गैर जिम्मेवारीपूर्ण निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गरेर गैर जिम्मेवारीपन देखाएको आरोप पनि उनले लगाएका छनन् ।

अख्तियारले भन्यो–‘गोकुल बाँस्कोटामाथि थप अनुसन्धान गर्न प्रमाण पुगेन’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकुल बाँस्कोटामाथि थप अनुसन्धान अघि बढाउनको लागि प्रमाण नपुगेको बताएको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको आरोप लागेका पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि थप छानविन गर्न प्रमाण पर्याप्त नभएको अदुअआले जनाएको हो ।

संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अदुअआले बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ ।

यस्तै अदुअआले मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरेपनि सम्पर्कमा आउन नमानेकोसमेत जिकिर गरेको छ ।

मन्त्री बाँस्कोटा र मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ ।

जनताको दुःख बुझ्दै लुम्बिनी प्रदेश सरकार, कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने
संघीय सरकारले कोरोनाका बिरामीहरुलाई आफ्नै खर्चमा उपचार गर्न भनिरहेको समयमा लुम्बिनी प्रदेश सरकारले भने संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ ।

लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् यसबारे जानकारी दिएका हुन् ।

सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले लुम्बिनी प्रदेश सरकारले पहिलेको जस्तै कोरोना संक्रमितहरुका लागि निः शुल्क उपचारको व्यवस्था गरेको बताए ।

शेयर बजार दोहोरो अंकले बढ्यो, सबै समूह हरियाली
आज शेयर दोहोरो अंकले बढेको छ । हिजो १३.५८ अंकले बढेको शेयर बजार आज १३.२२ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.८४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५८३.६० अंकमा उक्लिएको छ । आज १ सय ९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड १८ लाख २९ हजार ९ सय ९० रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढेको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७८.१२, निर्जीवन बीमा समूह ५५.७६ र जलविद्युत समूह २७.७२ अंकले बढेका हुन् ।

आईपीएल : राजस्थानसँग चेन्नई ७ विकेटले पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १७ ओभरमै पूरा गरेको हो । लक्ष्य भेट्न उसले तीन विकेट गुमाउनु परेको थियो ।

यो जितले राजस्थानको प्लेअफमा जाने सम्भावना कायमै छ । उसले १० खेलमा ८ अंक जोडेको छ । यो हारसँगै धोनीको टिम चेन्नईको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । अंक तालिकाको पुछारमा रहेको उसले ६ अंक जोडेको छ ।

अजरबैजान विरूद्धको युद्धमा ७०० भन्दा बढी आर्मेनिया सैनिक मारिए
अजरबैजान विरुद्धको जारी युद्धमा आर्मीनियाका सैनिकहरुको मृत्यु संख्या लगातार बढिरहेको छ ।

सोमबार आर्मीनियाका सेनाले मृतक लिष्टमा १९ सैनिकको नाम जोडेका थिए । उक्त युद्धमा आर्मीनियाको तर्फबाट ज्यान गुमाउने सैनिकको संख्या बढेर ७ सय २९ पुगेको छ ।

आर्मीनियाको रक्षा मन्त्रालयले यसअघि उक्त आँकडा अधुरो हुन सक्ने पनि बताएको थियो ।

लगातार जारी लडाईँमा ज्यान गुमाउनेको आँकडा ढिलो प्राप्त हुन सक्ने पनि बताइएको छ ।

इरानले यदि क्षेप्यास्त्र वा तोपका गोलाहरू कराबखबाट इरानको भूमिमा आयो भने त्यसले यसको जवाफ दिने चेतावनी दिएको छ ।

प्रतिक्रिया