अवैध लागूऔषध सहित तीन जिल्लाबाट पाँच जना पक्राउ

काठमाडौं । विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।

सर्लाही, लालबन्दी नगरपालिका-१ लखनदेही खोलाबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रनगर नगरपालिका-७ बस्ने १९ वर्षीय नरेन्द्र कुमार साह र हरिपुर नगरपालिका-५ बस्ने २२ वर्षीय जितेन्द्र राम रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ०६ एडी ५४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक साह र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो ।

यस्तै मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयास्थित सडकबाट नियन्त्रित लागुऔषध ६२ बोतल डाईलेक्स डिसि, १ सय ८७ टयाबलेट नाईट्रोजन, २ सय ३८ पीस एसपी प्रोक्सिभन ट्याबलेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-१५ रानी बस्ने ३१ वर्षीय शम्भु साह र सोही ठाउँ बस्ने ३० वर्षीय बिकि राई रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पदैल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उता सप्तरी, तिलाठी कोईलाडि गाउँपालिका-१ भन्सार चोकबाट ४ बोतल नियन्त्रित लागूऔषध कोरेक्स सहित राजबिराज नगरपालिका-४ बस्ने ३२ वर्षीय समिर अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया