रूपन्देही र चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट रूपन्देही र चितवनमा दुई जनाकाे मृत्यु भएकाे छ ।

बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा र चितवनकाे पुरानो मेडिकल कलेजमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्धकाे मंगलबार बिहान मृत्यु भएकाे हाे ।

सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी बुटवलकी ती महिलाको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेका थियाे । मधुमेहको दीर्घरोगी समेत रहेकी उनकाे आज बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यस्तै चितवनका मृतक वृद्ध निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका थिए । वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया