मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडियोसहित)

दशैं भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं भत्ता बापत्को रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि नेकपाले उक्त निर्णय लिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुलाई दशैं भत्ताबापत्को रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कांग्रेसले यसअघि नै दशैं भत्ताबापत्को रकम फिर्ता गर्न मञ्जुर भइसककेको छ ।

कांग्रेसले भन्यो–‘कोभिडबारेको निर्णय फिर्ता लिनु, महामारीमा काम नगर्ने सरकार किन चाहियो ?’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसबाट हुने कोभिड १९ को सन्दर्भमा सरकारले गरेको निर्णय सच्याउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार (आज) विज्ञप्ति जारी गर्दै संक्रमितहरुले आफैँले उपचार गर्नुपर्ने भनी सरकारले गरेको निर्णय फिर्ता लिन भनेका छन् ।

यस्तै कांग्रेसले कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनमासम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको पनि उल्लेख गरेको छ ।

उपत्यकामा २, ३८८ सहित थप ३, ७९० संक्रमित थपिए, १८ को मृत्यु, २, ३३५ डिस्चार्ज
नेपालमा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ५७ पुगको छ । यस्तै गत २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएका छन् ।

आज थपिएका संक्रमितमध्ये २हजार २ सय ८८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
क्वारेन्टिनमा ४ हजार ४७० जना रहेका छन् । ४० हजार ७ सय ७८ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

पैसा भए बाँच, नभए मर’ भन्नु सरकारको क्रुरता हो : साझा पार्टी
सरकारले कोरोना भाइरसको परीक्षण र उपचार बन्द गरेपछि साझा पार्टीले चर्को विरोध गरेको छ । पैसा भए बाँच नभए मर भन्नु नागरिकप्रति सरकारको क्रूर व्यवहार भएको साझा पार्टीको ठहर छ।

महाव्याधिका बेला जनतालाई, अप्रत्यक्ष रूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता भएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्षौँदेखि नेपाल तथा विदेशमा गरिएको आफ्नो उपचारमा राज्यकोषबाट पटक, पटक करोडौँ खर्च गरेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकार महाव्याधिका बेला नागरिकको उपचार खर्च राज्यले धान्न सक्दैन भन्नेजस्तो असंवेदनशील र गैह्रजिम्मेवारपूर्ण तर्क भएको साझाको ठहर छ ।

प्रस्तावित राजदूतद्वय खतिवडा र रेग्मीविरूद्ध चार उजुरी
प्रस्तावित दुई राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध चार उजुरी परेको छ ।

क्रमसः अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतद्वय खतिवडा र रेग्मीविरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उजुरीकर्तालाई १७ गते बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

उनका अनुसार कोविरुद्ध कति वटा उजुरी परको हो भन्नेबारे भने खुलिसकेको छैन ।

पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो। नेम्वाङका स्वकीय सचिव गणेश योङहाङकाअनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको थियो ।

लोक सेवा आयोगले रोक्यो लिखित परीक्षा
लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएको सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

कर्मचारीहरू समेत कोरोना संक्रमित भएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ भएको भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्काे सूचना नआएसम्म परीक्षा स्थगित भएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता
नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ ।

सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएका हो ।

सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि ९० दिन सम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विनले हस्ताक्षर गरेका छन् ।

दोस्रो सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको सनसनीपूर्ण जित
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबले सनसनीपूर्ण जित हासिल गरेको छ ।

२०/२० ओभरको खेल बराबरी भएपछि खेलिएको पहिलो सुपर ओभरपनि बराबर भएपछि खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिएको थियो ।

मुम्बईले दिएको १७७ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएपछि दुवै टिमको रन बराबरी भएको थियो ।

यस अघि आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो ।

भियतनाममा बाढी, ९० जनाको मृत्यु
दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँको प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका हुन् ।
साथै ती अधिकारीहरुका अनुसार उक्त बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् । बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ ।

त्यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् ।

प्रतिक्रिया