सरकारले गरिबक्सने भनेकै ‘केही नगरिबक्सने’ हो ! [टिप्पणी]

  • धनबल राई

काठमाडौं । सरकार त साँच्चै नै सरकारजस्तै भइबक्स्यो । सरकार त पर…बस्नुहुन्छ अनि गाउनुहुन्छ आत्मतारिफको गीत । बजाउनुहुन्छ आत्मप्रशंसाको बाँसुरी । अनि नचाउनुहुन्छ निरीह नागरिकहरुलाई छमछमी । आफूले बजाएको तालमा नाँच्ने नागरिकको मर्कासँग पूरै दूर भइबक्सन्छ सरकार । मानौं सरकार ‘निरो’ होइबक्सन्छ ।

सरकारले कोभिड उन्नाइसको सन्दर्भमा निर्णय गर्दै हिजै भनिबक्स्योे–‘आफ्नो परीक्षण आफैँ गर्नु, संक्रमितहरुले उपचार आफैँ गर्नु, शव व्यवस्थापन पनि आफैँ गर्नु ।’ सरकार यति भन्नलाई भने चुकिबक्स्यो–‘अबदेखि सरकारको काम मृतक र संक्रमितको तथ्यांक राख्ने मात्रै हो ।’

केही दिन पहिले मात्रै सरकारले भनिबक्सेको थियो–‘बेहोश भइहाले वा होला होलाजस्तो भए मात्रै अस्पताल आउनु ।’ आत्मप्रशंसामा लडीबुडी खेलिबक्सेका सरकार कोरोना भाइरसले ‘धोती न टोपी’ होइबक्स्यो । कारण, जतिबेला कोरोना आइसकेको थिएन । त्यतिबेला सरकारले आँखा कमिसन र घूसतिर डुलाइबक्स्यो ।

अनि जब नेपालमा पनि कोरोना भाइरसका संक्रमित नागरिक भेटिन थाले । तब सरकार विना पूर्वतयारी बन्दाबन्दी गर्नुतिर लम्किबक्स्यो । त्यही बन्दाबन्दीका कारण खान नपाएर जीवन र मरणको दोसाँधमा रहेका जनताको अगाडि ठिङ्ग उभिएर सरकारले भनिबक्स्यो–‘हामी हाम्रा नागरिकलाई भोककै कारण मृत्युवरण गर्न बाध्य तुल्याउने छैनौं ।’

खैर, सरकार त के भइबक्स्यो भइबक्स्यो ? सरकार त पर बसिबक्सेको छ । अनि खेलिबक्सेको छ, सत्ताको कबड्डी । सरकार त खाली विपक्षीलाई कक्रक्कै समाउने अनि आफू पक्षलाई जसरी हुन्छ आइज मात्रै पो भनिबक्सिन्छ ।

सरकारको यो कर्म देखेर कतिले त गाली गरे । कतिले त आलोचना गरे । कतिले पदबाट हट भनेर पनि भने । कतिले त यस्तो सरकार चाहिएन भनेर समेत भने ।

तर, सरकारले केही पो सुनिबक्सेन । सरकार त चीर निन्द्रामा होइबक्सन्छ क्यारे !

नेपाली भूमिमै कोरोनाले सयौंको संख्यामा आफ्ना नागरिकहरुलाई लग्यो । हजारौंको संख्यामा संक्रमितहरु तुलिए । अझै मृत्युदर बढिरहेको अवस्थामा सरकारले नागरिकलाई आफ्नै खुशी गर्नु, हामी सक्दैनौं भनिबक्स्यो । खैर, सरकारले गरिबक्सने भनेकै ‘केही नगरिबक्सने’ पो हो क्यारे ।

प्रतिक्रिया