कोरोनाको उपचार खर्च आफैँ व्यहोर्नू- सिभिल अस्पताल

काठमाडौं । सिभिल अस्पतालमा उपचाररत काेराेना संक्रमित बिरामीहरूले अब काेराेनाकाे उपचार खर्च आफैँ व्यहोर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्णय अनुसार अस्पताल प्रशासनले साे निर्णय गरेकाे हाे ।

हिजाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले अग्रपङ्तिमा खटिएका, विपन्न वर्ग तथा अति अशक्तहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने निर्णय भएकाे जानकारी दिएका थिए । अन्य नागरिकहरूले भने आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने उनकाे भनाइ थियाे ।

अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको उनले नियमित प्रेस ब्रिफिङका क्रममा बताएका थिए । उक्त निर्णय सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने मन्त्रालयले जनाएकाे थियाे ।

साे निर्णय बमाेजिम सिभिल अस्पतालले एक सूचना जारी गर्दै संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्न भनेकाे छ । ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएकाे छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धराैटी राखी उपलब्ध हुने जानकारी गराइन्छ ।’

प्रतिक्रिया