मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

१.सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुरा मात्रै होइन, काम पनि गरेको दाबी गरेका छन् । आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

यस्तै उनले देश नै विकासको बाटोमा अग्रसर भइरहेको पनि बताएका छन् । राम्रा काम भइरहेकाले विरोधीहरु अत्तालिएका बताएका ओलीले सरकारले राम्रो काम गरेको बताएका हुन् ।

यस्तै प्रम ओलीले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको पनि बताए ।

ओली–प्रचण्डको छलफल निष्कर्षविहीन
कर्णाली विवादबारे निष्कर्षमा पुग्न भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल’प्रचण्ड’बीचको छलफल विना निष्कर्ष सकिएको छ ।

दिउँसो ४ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कुनै पनि निष्कर्ष ननिस्किएको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दिएको छ ।

कर्णालीका विषयमा दुई अध्यक्षले आइतबारै टुंगो लगाउने र प्रदेश स्तरका नेताहरूलाई एकै धारणाको सुझाव दिने तयारी गरिएको थियो । तर अध्यक्षद्वय बीचमा नै कुरा नमिल्दा छलफल निष्कर्षविहीन बनेको हो ।

आफ्नो दशैं भत्ता फिर्ता लैजान संसद सचिवालयलाई भीम रावलको पत्र
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी कमिटी सदस्य एवम् सांसद भीम रावलले दशैं भत्ताबापत्को रकम फिर्ता लैजना माग गरेका छन् ।

उनले संघीय संसद सचिवालयलाई एक पत्र लेख्दै उनले दशैं भत्ताबापत्को रकम फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।
यस्तै उनले आफ्नो खातामा पैसा आएको बताउँदै कट्टी गर्न अनुरोधसमेत गरेका छन् ।

२,३२६ जना डिस्चार्ज हुँदा थप २,९४२ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर २हजार ९सय ४२ संक्रमित थपिएका छन् । १४ हजार ८ सय ७५ जनाको परीक्षण गरिएकोमा २ हजार ९ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ हजार ६ सय ९८ रहेका छन् । काठमाडौंमा १हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार २ सय ४६ पुगेको छ । संक्रमितमध्ये ९२ हजार १६६ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

धनगढीमा प्रहरी मृत फेला, तस्कर समूहले हत्या गरेको आशंका
धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक मृत फेला परेका छन् ।

निरीक्षक विक र जवान रामबहादुर साँउद शनिबार रातिदेखि बेपत्ता थिए । उनीहरुमध्ये विकको शव नेपाल भारत सीमास्थित मोहना नदी नजिकै फेला परेको समाचार आफूले सुनेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मकालु खबरलाई जानकारी दिए ।

अधिकारी बोहराका अनुसार चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका उनीहरु दुवैजना सम्पर्कबिहीन भएका थिए ।

जनार्दन शर्मा भन्छन्–दशैं भत्ताबाट भेन्टिलेटर किनौँ
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी कमिटी सदस्य एवम् सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड १९) को महामारीको यो समयमा सांसदको दशैं भत्ताबाट भेन्टिलेटर किन्नुपर्ने बताएका छन् ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । भेन्टिलेटर अभावका कारण कति संक्रमित

बिरामीहरूले ज्यान गुमाएको घटनाहरू सार्वजनिक भइरहेको यो अवस्थामा जनार्दन शर्माले सो प्रस्ताव गरेका हुन् ।
यसअघि सांसद भीम रावलले पनि आफ्नो खातामा आएको पैसा फिर्ता लैजान माग गरेका छन् ।

कोभिडका बिरामीका लागि सबै अस्पतालले ५० प्रतिशत बेड छुट्याउनू : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन भनेको हो । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनेको थियो । तर संक्रमण बढेसँगै कम्तिमा ५० प्रतिशत सबै प्रकारका बेड छुट्याउन भनिएको हो ।

साथै कोरोना संक्रमितको डिस्चार्ज अवधि पनि घटाएको छ । अब पछिल्लो तीन दिनमा लक्षण देखिएको छैन भने १० दिनमा डिस्चार्ज गर्न भनेको हो । यसअघि १० दिनमा पीसीआर गर्ने र पोजेटिभ आए १४ दिनमा टेष्ट नगरी पठाउन भनिएको थियो ।

एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने
नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो ।
केन्द्रीय बैंकका अनुसार चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

धवनको शतकमा चेन्नईमाथि दिल्लीको उत्कृष्ट जित
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले परजित गरेको छ ।
चेन्नईले दिएको १८० रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

दिल्लीका लागि शिखर धवनले शतक प्रहार गरे । धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गर्दै अविजित १०१ रन बनाएका थिए । त्यस्तै अक्सर पटेलले अन्त्यमा ५ बल खेल्दै अविजित २१ रन बनाएका थिए । त्यसैगरी दिल्लीका लागि मार्कोस स्टोइनिसले २४ रन बनाए भने कप्तान श्रेयस अय्यरले २३ रन बनाएर आउट भएका थिए ।

यो जितसँगै दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ ।

अमेरिकामा झण्डै ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै
अमेरिकामा सन् १९५३ पछि पहिलोपटक एक महिलालाई मृत्युदण्ड दिइने भएको छ ।

अमेरिकाको न्याय मन्त्रालयले दिएको जानकारीअनुसार लिसा मन्टगमरी नाम गरेकी उक्त महिलाले सन् २००४ मा एक गर्भवती महिलाको हत्या गरेकी थिइन् र उनको पेट चिरेर बच्चा झिकी उक्त बच्चाको अपहरण गरेकी थिइन् । उनी मिसौरीकी बासिन्दा हुन् ।

उनलाई इन्डियानामा एक प्राणघातक सुई लगाएर आगामी डिसेम्बर ८ मा मृत्युदण्ड दिइने बताइएको छ ।

प्रतिक्रिया