मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

विपि प्रतिष्ठान बचाउन धरानेहरू किन नउठ्ने ?

  • जितेन राई, धरान

शिक्षा, स्वास्थ्य र अनुसन्धानको पर्याय बनेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) अहिले राजनीति, सड्यन्त्र र भ्रष्टाचारको अखडा भएको छ । २७ वर्ष अघि महामानव विश्वेश्वर प्रसाद कोइरालाको नाममा नेपाल भारत साझेदारी परियोजना अन्तरगत तत्कालिन व्रिटिश घोपा क्याम्पमा स्थापना गरीएको विपि प्रतिष्ठानले धरानको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्छ, आम जनताको भरोसाको केन्द्र बन्छ भन्ने धरानबासीको आश पनि थियो ।

स्थापनाको केही वर्ष वीपी हस्पिटलले धरान र धरानेका लागि अपनत्व नदेखाएको पनि हैन । बर्तमान नेपाली कांग्रेसका प्रशावशाली नेता डा. शेखर कोइरालाको नेतृत्वमा विपि हस्पिटलको जग बसेको हो । उहाँको कुशल नेतृत्वमा वीपी हस्पिटललाई चिकित्सा क्षेत्रमा एशियाकै नमूना संस्था बनाउने अभियान चालू भयो । पूर्वका दुर दराजमा स्वास्थ्य सेवा नपाएर जीवन र मृत्युसँग पौठेजोरी खेल्दै बसिरहेका नागरिकका घरघर गएर विपिका डाक्टरहरुले स्वास्थ्य सेवा दिए । त्यत्ति बेलै हो, धरानबासी र पूर्वाञ्चलबासीले विपि हस्पिटल धरानमा आएको गर्व गरेको ।

डाक्टर, नर्स जस्ता चिकित्सा शिक्षामा सम्मानीत व्यक्तित्वहरु उत्पादन गर्न समेत भनेर स्थापना भएको विपि प्रतिष्ठानमा पढ्दै गरेका, काम पनि गर्दै गरेका डाक्टरहरु गाउँगाउँ गएर स्वास्थ्य अभियान चलाउँदा आम धरानबासीले आफ्नै घर आँगनमा हस्पिटल आएको अनुभूती गरे । जनताको अगाढ माया, राज्यको समुचित लगानी र तत्कालिन व्यवस्थापकहरुको कुशल कार्य दक्षता र दुरदर्शिताले एक दशकमै विपि प्रतिष्ठानले अन्तराष्ट्रिय उचाई पायो । हेर्दा हेर्दै स्थापनाको १५ वर्ष पुग्दै गर्दा यो दक्षिण एशियाकै उत्कृष्ट स्वास्थ्य संस्थामात्र बनेन, गुणस्तरीय चिकित्सक उत्पादन गर्ने मुलुक कै विशिष्ट संस्था बन्यो । यहाँबाट उत्पादित डाक्टर नर्सहरु नेपालका दुर दराजमा मात्र स्वास्थ्य सेवा दिन पुगेनन् अन्तराष्ट्रिय स्तरमा समेत पुग्न सफल भए ।

विडम्बना, आज विपि प्रतिष्ठान करिब सात सय एकडमा फैलिएको नेपालकै ठूलो स्वास्थ्य संस्था (जोसँगै सबै प्रकारका स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सञ्चालन गर्ने सामर्थ र पूर्वाधार छ) भएपनि रानो हराएको मौरी जस्तै भएको छ । भ्रष्टाचार गर्ने प्रमुख अड्डा भएको छ । विपि प्रतिष्ठानमा एक दशक यता चिकित्सा शिक्षाका विशिष्टिकृत सेवा र शिक्षा भन्दा बढ्ता राजनीति र भ्रष्टाचारका काण्डै काण्ड छन् ।

पाँच वर्ष यता प्रतिष्ठानमा भएका अख्तियारका यी काम कारवाही र अनुसन्धानले प्रष्ट पार्छ कि प्रतिष्ठान भ्रष्टाचारको अखडा भयो, प्रतिष्ठान भ्रष्टाचारीहरु उत्पादन गर्ने थलो भयो ।

डेढ वर्षअघि प्रतिष्ठानमा तत्कालिन उपकुलपति डा. राजकुमार रौनियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छड्केमा परे । एक ठेकेदारसँग घुस लिएको रकम समेत रंगेहात पक्राउ परेका उनी अहिले निलम्बनमा छन् भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरीरहेको हामीले पढ्दै र सुन्दै आएको कुरा हो ।

त्यसको केही समयपछि प्रतिष्ठानका पूर्वपदाधिकारीहरु उपकुलपति डा. वीपी दास, हस्पिटल डाइरेक्टर डा. अरविन्द कुमार सिन्हा, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, पूर्व रजिष्ट्रार नन्दबहादुर थापा, कर्मचारी दिनेशराज दाहाल, रुपा सिंगाची अग्रवाल, मेडिकल सप्लायर्स चेतन अग्रवालसहित आधा दर्जनलाई अख्तियारले करोडौं भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गर्यो, अहिले यी सबै तारेख धाउँदैछन् । विपि अस्पतालका कतिपय अनियमितता र भ्रष्टाचारमा अझैपनि अख्तियारले अनुसन्धान र छानविन गरिरहेको छ ।

पाँच वर्ष यता प्रतिष्ठानमा भएका अख्तियारका यी काम कारवाही र अनुसन्धानले प्रष्ट पार्छ कि प्रतिष्ठान भ्रष्टाचारको अखडा भयो, प्रतिष्ठान भ्रष्टाचारीहरु उत्पादन गर्ने थलो भयो ।

प्रतिष्ठान भ्रष्टहरुको अखडा हुनुमा हामी कत्ति जिम्मेवार छौं ?

सायद धरानबासीलाई यो प्रश्न कठोर हुन्छ होला । माफ पाउँ, धरानबासी म पनि यहिँको नागरिक हुँ, म पनि यहिँको हावापानी खाएर हुर्किएको हुँ, विपि हस्पिटलकै वरीपरी खेलेर मेरा बाल्यकाल र युवावस्था वितेका छन् । आज विपि हस्पिटल २७ वर्षको लक्का जवान हुँदा मैले पनि चार दशक बढिको यात्रा तय गरेको छु । त्यसकारण मलाई विपिको जगको इट्टादेखि फलाम, सिमेन्ट, ढुङगा, बालुवा मात्र हैन, त्यहाँभित्र इमान्दारपूर्वक पसिना बगाएका, जीवन अर्पण गरेका डाक्टर, नर्स र कर्मचारीहरु प्रति विशेष माया, प्रेम र गौरब छ ।

यहि भएर मलाई विपि हस्पिटलका राम्रा नराम्रा जे जस्ता कुरामा पनि चियोचर्चा हुने गर्छ ।

आज म बाध्य भएको छु, मैले विगतमा विपि हस्पिटल मेरो घर अगाडी छ भनेर गर्व गर्न लायक विपि प्रतिष्ठान रहेन अब । यसको कारण हामी धराने नै हो ।

कसरी ?

यसकारण कि, हामी धरानबासीले विपि हस्पिटललाई कहिल्लै हाम्रो सम्पत्तिले हेरेनौं ।
यसकारण कि, हामी धरानेले कहिल्लै विपि हस्पिटलमा हाम्रोपनि पहुँच हुनुपर्छ भनेनौं ।
यसकारण कि, लाहुरेहरुको शहर भनेर गर्व गर्ने हामी धरानेले ‘नजिकको तिर्थ हेँला’ भनेजस्तो गरेर विपिलाई वेवास्ता गर्यौं ।
यसकारण कि, हामी धरानेले कहिल्लै विपिसँग अधिकार माग्ने दृष्ठता गरेनौं ।
यसकारण, कि हामी लाहुरेका सन्तान लाहुरे नै हुनुपर्छ भन्ने मूल्य मान्यतामा अडियौं ।

आफ्ना सन्तान दरसन्तानलाई राम्रो शिक्षा–दिक्षा दिनुपर्छ भन्नुको सट्टा ‘बाउको, पितापुर्खाको बिँडो थाम्न’ राइफल चलाउनु पर्छ भनेर मस्तिष्कभन्दा शरीर बलियो बनाउन प्रोत्साहन गर्यौं ।

फलस्वरुप आज हाम्रा छोरा छोरीहरु आँगनमै रहेको मेडिकल कलेजमा डाक्टर, नर्सजस्ता सम्मानीत विषय पढ्न छोडेर ब्रिटिस गोराहरुको गुलामी गर्न बढि मेहनत गर्दैछन् । वर्षेनी सयौं लक्का जवान युवाहरु डोकोभरी ढुंगा बोकेर भेडेटारको उकालो ओरालो गरिरहेका छन् । वर्षेनी हज्जारौं युवतीहरु तिनै लाहुरे केटाहरुको पछि लागेर विदेशिन बाध्य छन्, ‘लाहुरेनी’को पगरी गुथेर फेसवुक र इन्ष्टाग्राममा विदेशिएको श्रीमानसँग विछोडको पिडा पोख्न बाध्य छन् । यदि समयमै हामीले हाम्रा छोराछोरीलाई पढाईलेखाईमा लगाउन सकेको भए सायद आज लाहुरे बनेर विदेशिन बाध्य हुँदैनथे कि ! बुढेसकालमा हाम्रा आमा बुबाहरु असहाय हुँदैनथे कि ?

हामीले समयमै विपि प्रतिष्ठानको आन्तरिक व्यवस्थापन, कार्य सञ्चालन र नीति निर्माणमा चासो दिएको भए सायद आज यो दिन देख्नु पर्दैनथ्यो कि ! सायद राज्यको श्रोत साधन माथि यस्तरी दोहन भइरहँदा, कोरोना संक्रमणमा धरानबासी भेन्टिलेटर नपाएर मृत्यु शैयामा पुग्ने अवस्था बन्दैनथ्यो कि !

प्रसंग मोडियो भन्नु होला !

वास्तकिता यहि हो, हामीले विपि हस्पिटललाई कहिल्लै आफ्नो बनाउन नसकेकै हो । अब आफैं कमजोर, बोल्न नसक्ने होइन्छ अरुले त हेपिहाल्छन् नी ! विपि प्रतिष्ठानमा धरान बाहिरबाट संघर्ष गरेर पढ्न, काम गर्न आएकाहरुले आफ्नो बनाए, लगाए, खाए भनेर कदापी आहारिस गरेको हैन । मात्र हामी धरानेहरु जति विपि प्रतिष्ठान भनेर गर्व गर्छौं त्यत्ति नै त्यसको अपनत्व ग्रहण गर्न पछि पर्यौं भनेको मात्र हो । हामीले समयमै विपि प्रतिष्ठानको आन्तरिक व्यवस्थापन, कार्य सञ्चालन र नीति निर्माणमा चासो दिएको भए सायद आज यो दिन देख्नु पर्दैनथ्यो कि ! सायद राज्यको श्रोत साधन माथि यस्तरी दोहन भइरहँदा, कोरोना संक्रमणमा धरानबासी भेन्टिलेटर नपाएर मृत्यु शैयामा पुग्ने अवस्था बन्दैनथ्यो कि !

त्यसो त धरानबासीले विपि प्रतिष्ठानबाट केही पाएनन् पनि भन्न खोजेको हैन । विपि प्रतिष्ठानमा धरानका धेरै दाजुभाईहरु रोजगारीमा हुनुहुन्छ । सामान्य पददेखि माथिल्लो पदसम्म पुग्नु भएको छ । तर, दुई चार जनाले ‘मह’ काढे, रोजगारी पाए भन्दैमा सबैथोक पाएको भन्न मिल्दैन । विपि प्रतिष्ठानकै कारण सामान्य पानी पुरी बेच्ने देखि, औषधी फलफुल, होटल लज, यातायात व्यवसायी, एम्वुलेन्स चालक धेरैको रोजगारी जोडिएको छ । त्योदेखि वाहेक, त्यहाँ कार्यरत डाक्टर, नर्स, कर्मचारीहरुको जीवन त्यहिँबाट चलेको यथार्थ हो । र, सबैभन्दा ठूलो कुरा धरानमा विपि प्रतिष्ठान आएर पूर्वाञ्चल (प्रदेश–१) तथा छिमेकी मुलुक भारतका जनताले समेत सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाएको कुरा पनि अकाट्य हो । साथै प्रत्येक वर्ष देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठानले पुर्याएको योगदान पनि विर्सन सकिँदैन ।

तर, हामीले विपि प्रतिष्ठानमा राज्यले गरेको लगानी र त्यसको प्रतिफल हेर्नुपर्छ । जहाँ विगत एक दशक यता सरकारले गरेको लगानी बालुवामा पानी हाले सरह भएको छ । र, सरकारले वर्षेनी करोडौं रुपिँया विपि प्रतिष्ठानका नाममा लगानी गर्दा त्यसलाई दोहन अरु कसैले गरेका हैनन् यहिका पदाधिकारीहरुले गरेका हुन् ।

उदाहरण खोज्न बाहिर जानु पर्दैन धराने जनताहरु !
विपि प्रतिष्ठान भित्रै क्वाटरमा ‘जुका’ जस्तो मोटाएर बसेका आफुलाई बरिष्ठ भन्ने केही पदाधिकारी तथा तिनिहरुका अघिपछि ज्यू ज्यू भन्दै प्रतिष्ठानको नीति नियमलाई धोती लगाउँदै भ्रष्टाचारको फड्के साक्षी किनारा भएका हरुको जीवन स्तर हेरे पुग्छ । यहाँ कसैले कमायो, खायो आरामले जीवन चलायो भने रिस गरेको हैन साथीहरु, यहाँ ती पात्रहरुको चर्चा गरिएको हो जसले विगतमा एक जोर गोल्डस्टार जुत्ता र हात्तिछाप चप्पल लगाएर जागिर शुरु गरेका थिए आज करोडौंको गाडीमा चढ्छन्, देशविदेशमा करोडौंको बैंक व्यालेन्स बनाएका छन् । दर्जनौं ठाउँमा घरघडेरी जोडेका छन्, आफ्ना छोराछोरीलाई डाक्टर इन्जिनियर बनाएका छन् । यो मैले बोलेको हैन धराने जनता, यो नेपाल सरकारको संबैधानिक निकायले बोलेको कुरा हो ।

आदरणीय धरानवासीहरु,
अहिले हामी कोरोना संक्रमणको उच्च जोखिममा छौं, धरानभित्र मात्रै दर्जन बढिले ज्यान गुमाउनु परेको छ । प्रदेश १ का समेत गरी पाँच दर्जन बढिले विपि प्रतिष्ठानमा आएर ज्यान गुमाउनु परेको यथार्थ हो । सरकारले लेवल ३ को कोरोना अस्पताल बनाउन करोडौं बजेट दियो तर, त्यो बजेटलाई यहाँका केही पदाधिकारी र तिनका आसेपासेले लुटे, जनता कोरोना संक्रमणले आक्रान्त भइरहँदा यहाँका पदाधिकारीहरुले त्यसैलाई कमाई खाने भाँडो बनाए ।

मुलुक मात्र हैन सारा विश्व नै कोरोना भाइरसको विरुद्धमा मानवता प्रदर्शन गर्दै एकजुट भएर लडिरहेको बेला विपि प्रतिष्ठानका पदाधिकारीहरुले कोरोना औषधी, भेन्टिलेटर र अक्सिजनमा मानवियता विक्रि गरे । डाक्टरलाई भगवानको रुपका रुपमा पुजिन्थ्यो तर, आफुलाई विसौं वर्षसम्म जनताको स्वास्थ्य सेवामा समर्पित गरेको, सत्य न्याय र निष्ठाका लागि काम गरेको भन्नेहरु कोरोनाले जनता छट्पटाईरहँदा राक्षसीपन देखाए । बरु त्यसैको नाममा कमाउने धन्धा बनाए । हुन त, राज्यलै कोरोनामा कमाउ धन्धामा छ, मैलै विपि प्रतिष्ठानको मात्रै चिन्ता गरेर केही हुनेवाला छैन । तर, म धराने हुँ, अस्पतालकै अगाडी आमा, बुबा, दाजुभाई उपचार नपाएर मर्नु परेको हेर्न सक्दिन ।

 माफ गर्नुहोला डाक्टर साहेव, नर्सहरु,

जो कोरोनाको संक्रमणमा सामान्य स्वास्थ्य सुरक्षाका साधन समेत नपाएर आफैं संक्रमित हुँदै आम कोरोना संक्रमितको उपचारमा दिन रात खटिइरहनु भएको छ । यो शब्द मैले तपाईहरुलाई खर्चिएको हैन । तपाईंहरुले अभाव र त्रासकाविच आफ्नो मन, वचन र कर्मले जसरी काम गर्नुभएको छ त्यसको लागि म साष्टाङ्ग दण्डवत् गर्न चाहन्छु । तपाईंहरुको उर्जा, शहनशीलता र मानवियताले हामी आम धराने जनताहरुमा अझै बाँच्न सकिन्छ कि भन्ने आश छ । तर, तपाईंहरु नै दिनदिनै संक्रमित भइरहनु भएको छ । आजभोली डर मलाई कोरोना लाग्छ भनेर हैन कि तपाईंहरु जस्तो भगवानरुपी डाक्टरलाई कोरोना भयो भने के होला ! भनेर लाग्छ । जस्तो सुकै नास्तिकले आफ्नो अन्तिम क्षणको अवस्थामा बाँच्न सकिन्छ कि भनेर भगवानको नाम लिन्छ । मेरा लागि तपाईहरु त्यहि भगवान हो । सलाम छ तपाईंहरुलाई । तपाईहरुको कामलाई ।

विपिकाे नाममा बनेकाे सालिकमा समेत कमिसन खान दाँत रगड्ने चरित्र भएकाहरूले अब विपि सुधार्लान् भनेर आश गर्न सक्ने अवस्था रहेन । यहाँ जुनै जाेगी आएपनि कानै चिरेकाे अनुभूत भयाे ।

धरानबासीहरु के हामी सधैं यस्तै त होनी ब्रो भन्ने ?
विपि प्रतिष्ठानमा धरानबासीको पहुँच भएन भनेर विद्रोह गर्नुपर्यो भनेर मैले उकासेको हैन । तर, राज्यको स्रोत साधन दिन दुगुणा रात चौगुणा लुटिइरहँदा, जनताको स्वास्थ्यसँग खेलवाड गर्दै राज्यको स्रोत र साधनको दुरुपयोग गरेर महंगा मोवाईल, लाखौंको मोटरसाइकल, लाखौंको गाडी र जनताको जीवनसँग प्रत्यक्ष जोडिने औषधी उपकरणसँग जोडिएर ब्रम्हलूट गरिरहँदा हामी कसरी मूकदर्शक बनिरहने ?

छर्लङ्ग छ, कोरोना हस्पिटल निर्माण र सञ्चालनमा बर्तमान उपकुलपति र तिनका स्वकीय सचिवले लुटेको । हैनभने कोरोना अस्पताल सञ्चालनमा आएको तीन महिनामै कसरी भएभरका भेन्टिलेटर विग्रिए ? किन एउटा सामान्य व्यापारीले पत्रकार सम्मेलन गरेर पैसा खायो भनेर भन्ने ढृष्टता गर्यो, किन त्यहिकै कर्मचारीले हाकाकाकी व्यापारीबाट पैसा खायो भन्न सके ?, विपिकाे नाममा बनेकाे सालिकमा समेत कमिसन खान दाँत रगड्ने चरित्र भएकाहरूले अब विपि सुधार्लान् भनेर आश गर्न सक्ने अवस्था रहेन । यहाँ जुनै जाेगी आएपनि कानै चिरेकाे अनुभूत भयाे ।

यहाँ यस्तै त हाेनी ब्राे भने जस्ताे टुलुटुली हेरेर मात्र बस्ने हाे भने, भाेली विपि प्रतिष्ठान निमिट्यान्न हुन्छ, हामी धराने विजयपुरकाे बाँदर धपाउँदै बस्नुपर्ने अवस्था नहाेला  भन्न सकिन्न ।

अन्तमा, सम्पूर्ण धरानबासीमा आग्रह
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाम्रो हो, हामी धरानबासीको हो । विपि प्रतिष्ठान र धरानबासीको अन्योन्याश्रित सम्बन्ध छ । पिपि प्रतिष्ठान धरानको भाग्य र भविष्यसँग जोडिएको महत्वपूर्ण पाटो हो । यसभित्र रहेका विक्रिति विसंगति विरुद्ध हामी आफैं नलागी सुख छैन ।

हामीलाई ज्ञात भएकै कुरा हो, यहाँ राजनीतिक पहुँचका आधारमा ‘आर्शिवाद’ पाएर आएकाहरुले यसको श्रीबृद्धिमा कहिल्लै सोच्दैनन् । यसको उदाहरण हामीले विगतकै इतिहासबाट देखिसकेका छौं । तसर्थ अब यसको संरक्षण, संबद्र्धन र विकासको लागि हामी आफैंले सोच्ने बेला आएको छ । त्यसका लागि कुनै ठूलो जनयुद्ध लड्नु पर्दैन मात्र भ्रष्टाचार, कूशासन तथा विक्रिति विसंगति विरुद्ध एक भएर घनिभूत रुपमा आवाज मात्र उठाए पुग्छ ।

अब धराने नयाँ पुस्ताले ‘लाहुरे’ सपना विर्सनु पर्छ, अब धराने युवाहरुको काँधमा स्थेस्कोप हुनुपर्छ । त्यसका लागि कुनै पहाड फुटाउनु पर्दैन, धरान भेडेटारको उकालोमा डोकोभरी ढुंगा बोकेर पैतला फुटाउनु पर्दैन ।
आउनु होस् हातेमालो गरौं । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका भाइरसहरुलाई सदाका लागि निमिट्यान्न पारौं ।

प्रतिकृयाहरु
Loading...