दसैंका यात्रु सवार स्करपियो भदौरे भीरमा खस्यो: पाँच जनाको मृत्यु, तीन घाइते

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१४ भदौरे भीरमा स्करपियो खस्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

सिद्धिचरण राजमार्गको कटारी-घुर्मी सडकअन्तर्गत भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार बा२०प ७१७१ नम्बरको स्करपियो भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमकाअनुसार ओखलढुंगा मानेभञ्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०/३२ वर्षका पुरुष, ३०/३५ वर्षका पुरुष र अर्की ३०/३५ वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका-४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।

प्रतिक्रिया