एउटा कालिगढको मनमा अनुत्तरित प्रश्न : ‘मैले बनाएको मूर्ती किन चुपचाप ?’

  • सुजाता लिम्बू

विराटनगर । ‘सधैं विजय दशमी आउनु महिना दिन अगाडिदेखि दुर्गा माताको मूर्ती बनाउने अर्डर आउँथ्यो । यो साल त कोरोना भाइरसको कारणले होला, अर्डर आएको छैन । यसपालि त मैले गरेको श्रमबापत्को रकमसमेत उठेको छैन । सोचिरहेको छु, मैले बनाएको भगवान् दुर्गा माता किन चुपचाप हुनुहुन्छ भनेर ।’ यो पङ्ति विराटनगर २ दुर्गा चोकमा दुर्गालाई पूर्ण रुप दिनमा उद्दत सञ्जित महतोको दुखेको हो ।

निर्मित दुर्गाको मूर्तीका अगाडि बसेका महतोले भन्दै थिए– ‘सिमेन्ट, बालुवा, गिटी, चुनढुङ्गालगायतसँग मेरो गहिरो प्रेम बसेको छ ।

हरसमय दुर्गासँगै बिताउने उनको जीवन दुर्गामय बनेको छ । दुर्गाले नै जीवन धानेको पनि सुनाउँछन् उनी । तर, विद्यमान परिस्थितिसँग उनको ठूलो गुनासो छ । भन्छन्, ‘कोरोना भाइरसले गर्नुगर्यो, सदा त दशैं नजिकिँदै गर्दा कति धेरै मूर्तीहरु विक्री हुन्थे । अहिले त आफूले श्रम गरेको पैसासमेत उठ्दैन ।’

उनले केही भगवान् अनि केही जनावरसमेतलाई आकारमा उतार्ने गर्छन् । त्यहीँबापत् प्राप्त केही पैसाले उनले आफ्नो परिवार र छोराछोरीको जीवनलाई पुनः आकार दिन्छन् । अर्थात् भनौं, उनको जीवन प्रत्यक्ष वा परोक्ष रुपमा मूतीसँग गाँसिएको छ ।

त्यसो त पछिल्लो समय कोरोना भाइरसबाट हुने कोभिडको कारणले धेरैको व्यवसाय धाराशायी बनेको छ । यही मेलमा परेका महतोको जीवन चल्दै त छ, तर चल्नेवाला छ कि छैन भन्नेमा उनी स्वयम् दुविधामा छन् । उनले दुखेसो पोखाएका छन्–‘सधैं चाडपर्वमा कामको चाप हुन्थ्यो । त्यहीँअनुसार कमाइ पनि हुन्थ्यो । त्यसबाट घर खर्च मज्जाले चल्थ्यो । तर, यस वर्ष त कोरोना भाइरसले गर्दा शून्यता छाएको छ ।’

सदाको वर्षहरुमा १०० भन्दा बढी मूर्ती विक्री हुँदाको खुशी सम्झेर दुःखी भएका महतोलाई अहिले ५ वटासम्म पनि विक्री गर्न पनि कठिन छ । उनी बल्लतल्ल ५ वटासम्म विक्री होला कि भन्ने झिनो आशालाई सम्हालेर दुर्गा मूर्तीकै अगाडि टोलाइरहेका छन् ।

एउटा मूर्ती पूर्ण रुपमा तयारी हुनु एक महिना लाग्ने उनी बताउँछन् । उनी भन्छन्–‘एउटा मूर्तीलाई पूर्ण रुप दिन एक महिना समय खर्चिनुपर्छ । तर, आम्दानी हुँदैन ।’

महतोलाई काममा साथ उनकै बुवाले दिन्छन् । स–परिवार १० जना छन् उनीहरु । सदाको जस्तै समय र परिस्थिति हुँदो हो त उनीहरु सबैजना उही काममा व्यस्त हुन्थे । तर, यो समय बल्लतल्ल मेहनतले तयार पारेकोे मूर्ती विक्री नहोला भन्ने चिन्तामा निन्द्रा हरण भएको उनी बताउँछन् ।

तै पनि यो वर्ष पनि उनले ४० वटा मूर्ती तयार पारेका छन् । विक्री हुन्छ कि भन्ने आशामै दिनहरु कटाउँदैछन् उनी ।

‘मेरो पसलदेखि नै बडा दशैंको रौनक शुरु हुन्थ्यो, रातभरि नसुती हामी दुर्गा माताको मूर्ती बनाउनमा सबै परिवार जम्मा हुन्थ्यौँ । तर, यो वर्ष त मैले बनाएको मूर्ती नै शान्त बसेझैं लागेको छ,’ उनको दुखेसो छ, ‘गत वर्षको जस्तो चाडपर्वको माहोल यो वर्ष शून्य रहेको छ ।’

 

प्रतिक्रिया