फ्रान्समा विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या

काठमाडौं । फ्रान्समा फेरि आतंकवादी हमला भएको आशंका गरिएको छ । विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको शुक्रबार राजधानी पेरिसमा टाउको काटी हत्या गरिएको छ ।

ती शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रान्सको चर्चित व्यङ्ग्य पत्रिका चार्ली हेब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन देखाएको बताइएको छ । उनीमाथि स्थानीय समय अनुसार साँझ ५ बजे आक्रमण भएको थियो । आफैँले पढाउने विद्यालय नजिकै उनको हत्या गरिएको हो ।

प्रहरीले आक्रमणकारीको गोली हानी हत्या गरेको छ । उनलाई गिरफ्तार गर्ने प्रयास गरे पनि सफल नभएपछि प्रहरीले गोली हानेको थियो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन ।

घटनालगत्तै उक्त स्थान पुगेका राष्ट्रपति इमानुएल माक्रोनले यो ‘इस्लामिक आतंकवादी हमला’ भएको बताए । ती शिक्षकले ‘अभिव्यक्ति स्वतन्त्रता’ पढाएकै कारण हत्या गरिएको माक्रोनले दाबी गरे । –एजेन्सी

प्रतिक्रिया