स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

वालिङ । स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबारदेखि जिल्ला प्रवेश गर्दा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नागरिकलाई सुरक्षित राख्न यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जानकारी दिए । ‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएमा तोकिएको क्वारेन्टिनमा बस्नुपर्छ’, प्रजिअ बस्नेतले भने।

जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ को अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ। जिल्लाका राजनीतिक दलले समेत यो अवस्थामा जिल्लाभित्र औपचारिक कार्यक्रम, सभा, सम्मेलन नगर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति बुद्धिबहादुर रानाले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन् । रासस

प्रतिक्रिया