कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । अबुधाबीमा गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

कोलकोताले दिएको १४९ रनको लक्ष्य पछाएको मुम्बईले १६.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईका लागि क्वेंटन डिककले अविजित रहादै ४४ बलमा ७८ रन बनाएका थिए भने कप्तान रोहित शर्माले ३५ रन बनाएका थिए ।

त्यस्तै हार्दिक पाण्डेयले अविजित २१ रन बनाए भने सूर्यकुमार यादवले १० रन बनाएका थिए । कोलकोताका बलर वरुण चक्रवर्ती र शिभम माभीले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै १४८ रन बनाएको थियो । कोलकोताका लागि पाट कमिन्सले अर्धशतकीय पारि खेलेका थिए । कमिन्सले ३५ बलमा अर्धशतक पुरा गरेका थिए भने अविजित रहदै ५३ रन बनाए ।

त्यस्तै नयाँ कप्तान इयोन मोर्गनले अविजित २९ बलमा ३९ रन बनाए । कमिन्स र मोर्गनबीच छैठौ विकेटका लागि ९।२ ओभरमा ८७ रनको साझेदारी गरेका थिए । त्यस्तै शुभमन गीलले २१, राहुल त्रिपाठीले ७, नितिश रानाले ५, दिनेश कार्तिकले ४ र आन्द्रे रसेलले १२ रन बनाए । मुम्बईका बलर राहुल चहरले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, नाथन क्ल्टर नील र जसप्रित बुमराहले एक एक विकेट लिए ।

प्रतिक्रिया