मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफ : ‘हामी त्यस्तो अनैतिक हुन सक्दैनौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आरोपको खण्डन गरेका छन् ।

६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोपको खण्डन गरेका हुन् ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको बताएका ओलीले उक्त आरोप निराधार रहेको पनि बताएका छन् । केही दिनअगाडि गृहजिल्ला गोरखा पुगेका डा. भट्टराईले ओली, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको बताएका थिए ।

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : विप्लव समूहलाई निस्तेज पार्न कुनै सम्झौता नगर्नुस्
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् । उनले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनाबद्ध तरिकाले अघि बढ्न पनि निर्देशन दिएका छन् ।

यस्तै फरक प्रसंगमा मन्त्री थापाले महामारी नियन्त्रणका क्रममा लगिएको लकडाउन र संक्रमणका कारण नयाँ सुरक्षा चुनौतीहरुको सामना गर्नु परिरहेको बताउँदै यसमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

आजको कोरोना अपडेटः थप २१ जनाको मृत्यु, संक्रमित कति ?
नेपालमा कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि हुँदा ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यस्तै आजको सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

सरकारविरुद्ध दसैँपछि ठूलो आन्दोलन र संसदमा हंगामा : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन र संसदमा हंगामा गर्ने बताएका छन् ।

सरकारले कोरोना नियन्त्रण गर्न नसकेको जनाउँदै देउवाले देशव्यापी आन्दोलन र संसदमा हंगामा मच्चाउने बताएका हुन् । पार्टीले गठन गरेको कोरोना संक्रमण अनुगमन समितिले तयार गरेको प्रतिवेदन बुझ्ने क्रममा देउवा दसैंपछि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका हुन् । सरकारलाई गलाउन संसदमा हंगामा गर्ने उनको भनाइ छ । सरकारले नागरिक ‘मरे मरुन्’को व्यवहार देखाएको उनको आरोप छ । जनताको स्वास्थ्य महत्वपूर्ण भएपनि सरकार त्यसलाई महत्व नदिएर भ्रष्टाचारमा लागेको सभापति देउवाको आरोप छ ।

कोरोना नियन्त्रण गर्न सरकारलाई निःशर्त कांग्रेसले सहयोग गर्दै आएको भए पनि सरकारले आफ्नो काम नगरेको उनले बताएका छन् ।

कृषिमन्त्री भन्छन्–‘ब्रम्हाजी नै आएपनि अहिले ५ लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्’
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान्ले मलको व्यवस्था गर्न नसक्ने बताएका छन् ।

शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले अहिले भगवान् शिव र ब्रम्हाजी नै आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन नसक्ने बताएका हुन् ।

कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले मल ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालको भनाइ छ ।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताएका छन् । मन्त्री भुसालको समयमा मल आपूर्ति गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

शेखर कोइरालाको माग–‘विज्ञ टोली गठन गरी नेपाल(चीन सीमाको सत्यतथ्य बाहिर ल्याऔं’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल–चीन सीमा सन्दर्भमा विज्ञ टोली गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको निरीक्षणमा गएको टोलीले सीमा अतिक्रमण भएको जानकारी प्राप्त भएको बताउँदै नेता कोइरालाले यस्तो माग गरेका हुन् ।

कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा एक टोली हुम्लाको नाम्खाको निरीक्षण गरेको थियो । उक्त टोलीले गत सोमबार चीनले सीमा मिचेको प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । सरकारले भने चीनले सीमा नमिचेको दावी गर्दै आएको छ ।

भक्तपुर इन्काउन्टर प्रकरणः डीएसपी कुँवरसहित ५ जनालाई कारबाही सिफारिस
भक्तपुरमा भएको इन्काउन्टर प्रकरणमा डिएसपी रुगम कुँवरसहित ५ जनालाई कारवाही गर्न सिफारिस गरिएको छ । मानव अधिकार आयोगले तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायव निरीक्षकहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कारबाहीको लागि सिफारिस गरेको हो ।

भक्तपुर, सूर्यविनायकको जंगलमा ०७५ साउन २१ मा सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

इन्काउन्टरमा मारिएका उनीहरूमाथि काठमाडौंको काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरणपश्चात् हत्या गरेको आरोप लागेको थियो ।

कोरोना भाइरस उपचार : रेम्डेसिभिर प्रभावकारी देखिएन
कोरोना भाइरसबाट हुने कोभिड १९ को निदानको लागि रेम्डेसिभिर नामक औषधि प्रभावकारी नदेखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

संगठनका अनुसार रेम्डेसिभिरको कोभिड १९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको हो ।

फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ । उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो ।

गेल र राहुलको अर्धशतकमा पञ्जाबले बैंगलोरलाई हरायो
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ । बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

यो जितसँगै पञ्जाबले ८ खेलमा दोस्रो जित हासिल गरेको छ । पञ्जाबले ६ खेलमा हार बेहोरेको छ । त्यस्तै बैंगलोरको भने ८ खेलमा यो तेस्रो हार हो भने बैंगलोरले ५ खेल जितेको छ ।

आइपिएल अन्तर्गत शुक्रबार मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुनेछ ।

भियतनाममा भिषण बाढी, ५५ जनाको मृत्यु
पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।

विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको भियतनामको केन्द्रीय विपद् समितिले जनाएको छ ।

भियतनामको मध्य क्षेत्रका क्वाङ ट्रि, थुआ थिएन हुई र क्वाङ नाम प्रान्तमा सबैभन्दा बढी असर परेको छ ।

थुआ थिएन प्रान्तको फोङ डाइन जिल्लामा बाढी पहिरो पीडितको उद्धारका लागि गएका १३ जना उद्धारकर्मीको पहिरोमा परेर ज्यान गएको समितिले जनाएको छ ।

गत अक्टोबर ५ देखि १३ तारिखसम्मको अवधिमा भियतनामको मध्यक्षेत्रमा ठूलो वर्षा भएको थियो । केही क्षेत्रमा २ हजार मिलिमिटरसम्म वर्षा भएको छ ।

 

प्रतिक्रिया