भक्तपुर इन्काउन्टर प्रकरणः डीएसपी कुँवरसहित ५ जनालाई कारबाही सिफारिस

काठमाडौं । भक्तपुरमा भएको इन्काउन्टर प्रकरणमा डिएसपी रुगम कुँवरसहित ५ जनालाई कारवाही गर्न सिफारिस गरिएको छ । मानव अधिकार आयोगले तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायव निरीक्षकहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कार्वाहीको लागि सिफारिस गरेको हो ।

भक्तपुर, सूर्यविनायककाे जंगलमा ०७५ साउन २१ मा सिन्धुपाल्चाेकका गाेपाल तामाङ र नुवाकाेटका अजय तामाङलाई प्रहरीले इन्काउन्टर गरेकाे थियाे । इन्काउन्टरमा मारिएका उनीहरूमाथि काठमाडाैंकाे काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काकाे अपहरण पश्चात हत्या गरेकाे आरोप लागेकाे थियाे ।

उनीहरू इन्काउन्टरमा मारिएपछि परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकाे थियाे । उजुरीमाथिकाे छानविनपछि आयोगले इन्काउन्टरमा मुछिएका प्रहरीहरूमाथि कारवाहीका लागि सिफारिस गरेको हो ।

प्रहरीले दोहोरो झडप भएको बताएको उजूरीमा आयोगबाट गठित विशेषज्ञहरु सम्मिलित छानविन समिति समेतले पेश गरेको प्रतिवेदनउपर सुनुवाई हुँदा उक्त घटना दोहोरो झडप नभई आरोपित दुवैजनालाई नियन्त्रणमा लिए पश्चात गोली हानी मारिएको आयोगकाे ठहर छ ।

उक्त घटनाबाट पीडित बालक निशान खड्काको परिवारलाई रु. ३ लाख क्षतिपूर्ति, गोपाल र अजय तामाङको परिवारलाई रु. १ लाख क्षतिपूर्ति दिन पनि आयोगले सिफारिस गरेकाे छ ।

प्रतिक्रिया