डा. शेखर कोइरालाको आक्रोशः ‘यो देशमा कानुनी राज्य छ कि छैन ?’

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले सर्लाही जिल्ला प्रहरी कार्यालयमा बुधबार संघीय संसदका सदस्यद्वय नगेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह तथा प्रदेशसभा सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंह लगायत सयौंलाई प्रहरीले गरेको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएका छन् ।

डा. कोइरालाले आज प्रेस बक्तव्य प्रकाशित गर्दै प्रहरीले गरेको दुर्व्यवहार प्रदेश २ र सिंगो मुलुकमा कानुनी शासन नरहेको प्रष्ट भएको बताएका छन् ।

‘संघीय र प्रदेशका जनप्रतिनिधि समेत रहेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले गरेको व्यवहारले प्रदेश २ मा र सिंगो मुलुकमा कानुनी राज्य छ कि छैन भन्ने गहन प्रश्न समेत उब्जाएको छ ।’ डा. कोइरालाले भनेका छन् ।

जिल्लाको रामनगर गाउँपालिका वडा नं. ७ सिसौटका महेन्द्र रामको गत असोज २२ गते भएको हत्याबारे छानबिन गरी दोषी पत्ता लगाउन माग गर्दै मृतकका परिवारसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाने क्रममा कांग्रेस सांसदहरु सहित सयौंको संख्यामा रहेका जनता प्रति प्रहरीले बर्बरता प्रदर्शन गरेको थियो ।

डा. कोइरालाले अगाडी लेखेका छन्–‘मृतकको शव विना कारण आठ दिनसम्म प्रहरी प्रशासनले वीरगञ्ज स्थित नारायणी अस्पतालमा राख्ने, मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने गरेको छ ।’ डा. कोइरालाले पीडितलाई न्याय दिलाउन जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाउन आग्रह गर्न आयोजना गरिएको शान्तिपूर्ण र्यालीसहित पुगेका संघीय र प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि माथि समेत लाठी चार्ज र अश्रुग्यास प्रहार गर्ने प्रहरीले आम नागरिकलाई कसरी न्याय देला भन्ने प्रश्न उब्जिएको पनि बताएका छन् ।

‘म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भर्त्सना गर्दै पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, घटनाका घाइतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिइ आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’ डा. कोइरालाले भनेका छन् ।

प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेस कार्यकर्ता र प्रहरी बिच झडप हुँदा झडपमा परी १ जना पत्रकार, २४ जना नेपाली कांग्रेसका कार्यकर्ता तथा प्रहरी नायव उपरीक्षकसहित २२ जना प्रहरी घाईते भएका थिए ।

मृतक महेन्द्र रामलाई गएको असोज २१ गते बेलुकीको समयमा आफनो घर अगाडी बसिरहेको समयमा १२–१५ जनाको समुहमा घरेलु हातहतियार लिई केहि व्यक्तिहरुले आक्रमण गर्दा गम्भीर घाइते भएका रामको इन्डो अस्पताल बिरगंजमा उपचारकै क्रममै असोज २२ गते मृत्यु भएको थियो । मृतक रामको दोषीलाई कार्वाही नगरेको भन्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया