ब्यारेकमा बढ्यो कोरोना संक्रमण

बागलुङ । पछिल्ला दिनमा सामूहिक बसोबास गर्ने नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । बागलुङमा बिहीबार मात्रै २२ नेपाली सेना र १४ नेपाल प्रहरी गरेर ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार नेपाली सेनाको २३ नम्बर बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो । अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो । नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । सङ्क्रमितमध्ये विदेशबाट फर्किएर क्वारेन्टिनमा बसेकासमेत छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको छ ।

जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । बुधबार बागलुङ नगरपालिका–२ का ७७ वर्षीय कोरोना सङ्क्रमितको उपचारका क्रममा पोखरास्थित चरक मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । यसअघि निसीखोला गाउँपालिका– २ का २९ वर्षीय युवकको कोरोनाले मृत्यु भएको थियो । उनी फोक्सो र मिर्गौला पीडित थिए । रासस

प्रतिक्रिया