बंगलादेशमा बलात्कारको आरोपमा ५ जनालाई मृत्युदण्डको फैसला

काठमाडौं । बंगलादेशको अदालतले बलात्कारको आरोपमा ५ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । सन् २०१२ मा १५ वर्षीया वालिकामाथि भएको सामूहिक बलात्कार को घटनाका दोषी ५ जनालाई बिहीबार मृत्यु दण्डको फैसला सुनाइएको हो ।

महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले बिहीबार उत्तरी जिल्ला टाङ्गिलबाइमा यो फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार पीडित बालिकाको केटा साथीले उनलाई खोला नजिकैको क्षेत्रमा लिएर गएका थिए । जहाँ पीडितको साथी र अरु दुई जनाले बलात्कार गरेका थिए । यो घटनामा अन्य दुई जना युवकले पनि सघाएका थिए । यो घटनामा पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

सोमबार मात्रै बंगलादेशले बलात्कारको मुद्दामा दोषीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको थियो । बलात्कारको मुद्दामा मुलुकभर आन्दोलन चर्किदै गएपछि बंगलादेश सरकारले बलात्कारको मुद्दामा मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको थियो। बंगलादेशको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक पारित गरेको हो ।

गत साता बंगलादेशमा एक सामूहिक बलात्कारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै देशभर विरोध प्रदर्शन भएको थियो । अलजजिरा

प्रतिक्रिया