विष्णु पौडेल, भालुबाङ र अर्थ मन्त्रालय !

  • धनबल राई

काठमाडौं । सरकारको नेतृत्व सम्हालिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिपरिषद् ११औं पटक पुनर्गठन गरेका छन् । जहाँ, प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् । ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको हैसियतले सिंहदरबार बोलाएका छन् । यस्तै रिक्त मन्त्रालयहरु  सञ्चार, अर्थ र शहरी विकासमा नयाँ नियुक्ति गरेका छन् । नियुक्ति र जिम्मेवारी हेरफेरको क्रममा अर्थमन्त्रीका रुपमा नेकपा महासचिव विष्णु पौडेल मन्त्रालय पसेका छन् । यस्तै शहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा लीलानाथ श्रेष्ठलाई दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनपछि राजनीतिक वृतमा थुप्रै कुराहरु सुनिए । नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट बनेको सन्दर्भ पनि बाहिर आए । त्यसँगै ईश्वर पोखरेललाई मन्त्रालय किन खोसियो भनेर विश्लेषणसमेत गरिए । त्यसमा पनि विष्णु पौडेलका बारेमा धेरैले धेरै खालका टिकाटिप्पणी र छुट्टाछुट्टै  विश्लेषणहरु गरे । खासगरी बालुवाटार जग्गा प्रकरणमा जोडिएका पौडेललाई अर्थ मन्त्रालयको चाबी दिइएको भन्दै आलोचना पनि भएन । विशेषगरी रुपन्देहीको बुटवलनिवासी पौडेललाई प्रदेश नं. ५ को राजधानी अर्थ मन्त्रालयसँग साटेको भन्ने आरोप पहिल्यैदेखि थियो । पछिल्लो निर्वाचनमा त्यहीँबाटै निर्वाचित भएका पौडेल पहिल्यैदेखि नै प्रदेश नं. ५ को स्थायी राजधानी बुटवल नै हुनुपर्ने ‘लबिङ्ग’मा थिए ।

आफू र आफ्नो नेतृत्वको सरकारले मात्रै प्रदेशको नाम र स्थायी राजधानी तोक्न नसकेर शीर्ष नेतृत्वको सहयोग मागेका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्षद्वय ओली-दाहालकै सहमतिमा स्थायी राजधानी दाङ भालुबाङको राप्ती उपत्यका पुर्याइयो । त्यसपछि नेतृत्वसँगै रुष्ट बनेका पौडेलका कारण कति पटक नेकपा सचिवालय बैठकसमेत स्थगित भएको थियो ।

रुपन्देहीको बुटवललाई प्रदेश नं. ५ को स्थायी राजधानी बनाउने कुरालाई आफ्नो चुनावी घोषणा पत्रमै समावेश गरेका पौडेल अन्ततः बुटवललाई नै स्यायी राजधानी बनाउने कुरामा चुके । त्यसपछि केही दिन अध्यक्षद्वय ओली–दाहालसँग रिस साँधेका पौडेल विस्तारै मथ्थर हुँदै गए । यसलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पौडेलले अर्थ मन्त्रालयसँग प्रदेश नं. ५ को राजधानी साटेको भनी बुझ्यो । अन्ततः विष्णु पौडेल अर्थमन्त्री बने । यस्तै पनि देखियो ।

यता कांग्रेसले मात्रै होइन, राजनीतिक विश्लेषकहरुले पनि उही अनुपात र सुरमा बुझे । उनीहरुको ‘रिडिङ्ग’ पनि उस्तै सुनियो । दाङको भालुबाङलाई प्रदेश नं. ५ को स्थायी राजधानी बनाउने चर्चा चलिरहँदा बुटवलको चोक-चोकमा टायर बालेर प्रदर्शन गर्नेले मात्रै होइन, सबैले उस्तै गरी बुझे ।

खासगरी आफ्नो सभापति शेरबहादुर देउवाको पालामा प्रदेश नं. ५ को स्थायी राजधानी बुटवल नै हुने भनिएकोमा भालुबाङ पुर्याइएपछि रुष्ट बनेका उनीहरुले भनेका कुरा अन्ततः साँचोजस्तो देखिएको छ ।

घटनाक्रमहरु यसरी विकसित हुँदै आउँदा विष्णु पौडेलसँग रुपन्देहीबासीहरु रुष्ट बनेका बताइन्छ । यस्तै कतिपयले त विष्णु पौडेलको रुपन्देहीकेन्द्रित राजनीतिक धरापमा परेकोसमेत बताएका छन् । राजनीतिक विश्लेषक सिद्धिचरण भट्टराई बुटवलबाट दाङमा राजधानी सार्दा बुटवलतिरका नेताहरु र सो क्षेत्रबाट पार्टीलाई ठूलो नोक्सान हुने बताइसकेका छन् ।

नेकपाका महासचिव विष्णु पौडेलले कुनै बेला अखण्ड लुम्बिनीको पक्षमा आन्दोलनको नेतृत्व नै गरेका कारण त्यहाँका जनताले ठूलो भरोसा गरेका थिए भनेर भनिन्छ ।

तर, त्यो जनताको विश्वास अहिल्यै टुटेको कतिपयको तर्क छ । अहिले बुटवलमा स्थायी राजधानी कायम गराउन नसकेको अपजस पौडेलले लामो समय झेल्नुपर्ने भट्टराईको तर्क छ ।

अतः अहिले विष्णु पौडेल अर्थमन्त्रीको रुपमा संघमा छन् । खासगरी प्रदेश नं. ५ कै सवालमा उनीमाथि लाग्दै आएको आरोप अन्ततः साँचोजस्तै देखिएको छ । प्रदेश नंं. ५ को स्थायी राजधानी बुटवललाई बनाउने कुरामा नमज्जासँग चुकेका पौडेलको राजनीतिले अधिकांश नेताहरुको बानी र वाणीलाई झल्क्याउँछ । यसले नेतालाई क्षणिक आनन्द त देला । तर, जनताको नजरमा भने कदापि राम्रो गर्दैन ।

प्रतिक्रिया