गाँजा खाने विषयमा विवाद हुँदा साथीको हत्या, एक पक्राउ

काठमाडौं । २२ वर्षीय अभिषेक चौधरीको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले चौधरीको हत्याको अभियोगमा कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधबार नियन्त्रणमा लिएको हो । बिहीबार प्रहरीले अभिुक्तलाई सार्वजनिक गरेकाे हाे ।

पक्राउ परेका युवकले गाँजाकाे विषयमा झगडा हुँदा हत्या गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ । प्रहरीका अनुसार हत्या भएको दिन अभिषेकले १ सय रुपैयाँ दिएर रविनलाई गाँजा किन्न पठाएका थिए । रविनले गाँजा किनेर ल्याए तर अभिषेकले खान दिएनन् । त्यसपछि उनीहरूबीच विवाद भएकाे थियाे ।

त्यही क्रममा अभिषेकले झापड समेत हानेपछि रविनले आफूलाई अपमान गरेको महशुस गरी आफ्नो घरमा गएर बन्चरो ल्याएर बाटो ढुकेर मंगलबार हत्या गरेर भागेकाे खुलेकाे प्रहरीले जनाएकाे छ ।

मृतक अभिषेककाे शव कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा भएको भित्री सानो गोरेटो बाटोमा घटनाकाे भाेलिपल्ट स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया