अवैध लागूऔषध र विभिन्न हातहतियार सहित ७ जना पक्राउ

काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका-४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुन बहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् ।

उक्त स्थानमा लागूऔषध गाँजा लिएर आउँदै छन् भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्थानमा लुकिछिपि बसेको अवस्थानामा फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।

यस्तै सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित सडकबाट १ सय एमएल लेखिएको ३० बोतल नियन्त्रित लागूऔषध डाइलेक्स डिसी सहित सोही गाउँपालिका बस्ने ४० वर्षीय चन्द्र नारायण साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२१ गलबन्दी नाला नजिकबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके डुडुवा गाउँपालिका-२ बेतहनी बस्ने २० वर्षीय अजय कुमार चौहान र सोही ठाउँ बस्ने २० वर्षीय चन्द्र प्रसाद चौहान रहेका छन् ।

प्रहरी चौकी तेलियनपुर बाँकेबाट खटिएको प्रहरीले बेतहनीबाट फुलटेग्रातर्फ आउँदै गरेको यूपी ४० एएल २२४६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकल चालक अजय र मोटरसाइकलमा सवार चन्द्रलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएकाे छ ।

प्रतिक्रिया