फिर्ता गर्ने शर्तमा युवालाई मौरी

चितवन । चितवनको केही भू-भाग पहाडी क्षेत्रमा पर्छ । ती ठाँउका स्थानीयको दैनिकी कष्टकर छ । आर्थिक लगायत सबै क्षेत्रमा उनिहरु पछाडि छन् । विशेषतः यस क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ ।

जिल्लाको इच्छाकामना गाउँपालिकाको पुरै वडा, कालिका नगरपालिकाको ९, १० र ११ तथा राप्ती नगरपालिकाको १०,११, १२ र १३ वडा पहाडमा पर्छ । त्यसमध्ये कालिका १० र ११ तथा इच्छाकामना १ मा सपना भिलेज सोसियल इम्प्याक्टले परियोजना सञ्चालन गरेको छ ।

कालिका १० र ११ अर्थात् साविक सिद्धि गाबिसमा परियोजनाको अवधि सम्पन्न भए पनि स्थानीय सरकारको रुपमा रहेको कालिका नगरपालिकासँग सहकार्य गरेर सोसियल इम्प्याक्टले यहाँका स्थानियलाई व्यवसायिक बनाउन मौरी वितरण गरेको छ । अघिल्लो बर्ष १० जनालाई २०० घार मौरी वितरण गरिएकोमा बिहीबार ६ जना युवाहरुलाई १२० घार मौरी वितरण गरिएको छ । पाँच वटा मौरिसहितको घार किने पछि मात्र प्रतिव्यक्ति २० घारका दरले मौरी वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले बताए ।

‘थप जिम्मेवारी बनाउन पहिला उनिहरुलाई पाँच घार मौरी किन्न लगायौँ । हामीले (सपना भिलेज र नगरपालिका) मिलेर थप २० घार दिएका छौँ, ’ अध्यक्ष गिरिले भने, ‘सम्झौता अनुसार ती घार तीन बर्षमा उनिहरुले फिर्ता गर्नुपर्छ । फिर्ता गर्नुपर्ने शर्त रहेकाले उनिहरु व्यावसायिक रुपमा मौरीपालन गर्न अग्रसर हुने विश्वास छ ।’

सम्बन्धित वडा कार्यालय, सोसियल इम्प्याक्ट र किसानबीच त्रिपक्षिय सम्झौता गरेर मात्र मौरी वितरण गरिएको हो । सम्झौता अनुसार लापरबाहीका कारण मौरिमा क्षति भएमा उनिहरुको सम्पत्तिबाट असुलउपर समेत गरिने उल्लेख छ । सो सम्झौतामा तिनै पक्षका प्रतिनिधिले कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठकै उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

तोकिएको तीन वर्षको अवधिमा ती किसानहरुले २० घार मौरी दोस्रो पक्ष अर्थात् सोसियल इम्प्याक्टलाइ फिर्ता दिनुपर्ने छ र त्यो फिर्ता भएको मौरी व्यावसायिक रुपमा मौरीपालन गर्न चाहनेलाई पुन: वितरण गरिने छ । चितवनको रत्ननगरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सिद्धिका ६ जना युवाहरुलाइ १२० घार मौरी वितरण गरिएको हो ।

कालिकाका मेयर खुमनारायण श्रेष्ठ, रत्ननगरका मेयर नारायण वन, सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरि, कालिकाका वडा अध्यक्षहरु विनोद रेग्मी र दिलबहादुर गुरुङले सयुक्त रुपमा किसानहरुलाई वितरण गरे । कालिका १० का नरबहादुर तामाङ, कबिराज तामाङ र सुर्य बहादुर सुनार, कालिका ११ का प्रदिप चेपाङ, मित्रलाल चेपाङ र बुद्धिबहादुर तामाङलाई प्रति व्यक्ति २० घारका दरले मौरी वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका परियोजना अधिकृत अनिल अर्यालले बताए । प्रती घार ११ हजार ५ सयका दरले मौरिसहितको घार खरिद गरि वितरण गरिएको अर्यालले जानकारी दिए ।

सो माैरी कुल १३ लाख ८० हजार बराबरको हुन आउँछ । अघिल्लो बर्ष १० जना किसानलाई १९ लाख बराबरको मौरी वितरण गरिएको थियो । किसानहरुल्र सम्झौता अनुसार आफुले पाँच/पाँच घार मौरी किनेका छन् ।

कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठले पहाडी क्षेत्रका स्थानीयको जिवनस्तर उकास्न सहयोग गरिएको भन्दै प्रदान गरिएको मौरिको सहि सदुपयोग गरि व्यावसायिक रुपमा अगाडि बढ्नुपर्ने बताए । यो सहयोगले आय-आर्जनका लागि बाटो देखाउने काम मात्र गर्ने भन्दै सम्बन्धित किसान जागरुक बन्नुपर्नेमा मेयर श्रेष्ठले जोड दिए ।

सपना भिलेज सोसियल इम्प्याक्टले सिद्धिमा परियोजना सम्पन्न गरेर अहिले इच्छाकामना १ मा उस्तै प्रकृतिको परियोजना सञ्चालन गरिरहेको छ । स्थानीयबिच प्रतिस्पर्धा गराइ उनिहरु मध्येबाट उत्कृष्ट ठहरिएकाहरुलाई नगदले पुरस्कृत गर्ने गरिन्छ । यसले उनिहरुमा जागरुकताको भावना सृजना हुने दाबी छ ।

प्रतिक्रिया