आजकल डा. बाबुराम किन यति छुद्र ?

  • हरिहर भण्डारी

काठमाडौं । जनयुद्ध ताका डा. बाबुराम भट्टराईको क्रान्तिकारी लेखले नेपालको राजनीति तरंगित हुन्थ्यो । रुकुम रोल्पा जस्ता विकट ठाउँमा रहेर दुश्मन (नेपाली सेना) का नजरबाट जोगिएर डा. भट्टराईले संविधान सभा र गणतन्त्रका पक्षमा लेखएका कठोर लेखहरुले आम जनतामा परिवर्तनको ज्वारभाटा ल्याइदिन्थ्यो । रक्तरञ्जित शब्दहरुले क्रान्तिको विगुल फुक्दथ्यो । युवाहरु उनका भाषण र लेखहरुबाटै मर्न र मार्न तयार हुन्थे ।

तर, जसै १० वर्षको शशष्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दै उनको तत्कालिन पार्टी नेकपा माओवादी संसदिय अभ्यासमा सिंहदरबार प्रवेश गर्यो तब डा. बाबुराम भट्टराईका ‘करनी र कथनी’ फरक रहेछ भन्ने प्रष्टिँदै गयो । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री सम्म भए । मन्त्री पदमा रहँदा शालिन व्यक्तित्वका रुपमा दुनियाँले मानेका थिए । तर, जसै डा. भट्टराई राजनीतिमा असफल हुँदै गए दिन प्रतिदिन छुद्र बन्दै गइरहेका छन् ।

खासगरी डा. डा. भट्टराई आफ्नो पुरानो पार्टीका शिर्ष नेताहरु प्रति अत्यन्त छुद्र भएको पाइन्छ । कुनै समय माओवादीमा रहँदा बर्तमान नेकपाका अध्यक्ष, उनका सुप्रिम कमाण्डर पुष्पकमल दाहाललाई माओत्सेतुङ, लेलिनसम्मको ‘पगरी’ गुथ्याउने अहिले सबैभन्दा ठूलो शत्रुका रुपमा परिभाषित किन गर्दैछन् ?

अनुमान गर्न गाह्रो छैन । कुनै बेला एउटै थालमा खाएर राजनीति गरेका डा. भट्टराई र नेकपा अध्यक्ष विच अन्तरद्वन्द्व बढ्नुको प्रमुख कारण एकले अर्काको अस्तित्व नस्विकार्ने प्रवृत्ति नै हो । माओवादी जनयुद्ध सुरु गर्दापनि दुवैमा अहम्ता थियो । यहि अहम्ताले माओवादीलाई फुटायो । त्यसपछि डा. भट्टराईले ‘परिवर्तन संभव छ हाम्रै पालामा’ भन्दै आफ्नै नेतृत्वमा ‘नयाँ शक्ति पार्टी’ गठन गरे । तर, नयाँ शक्तिले कुनै शक्ति देखाउन सकेन ।

त्यसपछि उपेन्द्र यादव, अशोक राईहरुको समाजवादी पार्टीमा नयाँ शक्तिलाई विलय गराए । र, पछिल्लो समय राष्ट्रिय राजनीति गर्ने उद्देश्य लिएर तराई–मधेशको राजनीति गर्नेहरुसँग एकताबद्ध भई जनता समाजवादी पार्टी गठन गरी सक्रिय छन् । रपनि जसपामा उनको राजनीतिले भनेजस्तो उचाई लिएको चाहिँ छैन । बरु उनी छुद्र राजनीतिज्ञका रुपमा भने परीभाषित भइरहेका छन् ।

आजकल डा. भट्टराई आफ्ना सकमक्षी, प्रतिष्पर्धी नेताहरु प्रति कठोर भएका छन् । खासगरी पूर्वमाओवादी प्रति । उनै डा. भट्टराईले पछिल्ला केही दिन बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अरबौं भ्रष्टाचार भएको भन्दै पूर्वप्रधानमन्त्रीहरु र बर्तमान प्रधानमन्त्रीलाई समेत मुछिदिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत पूर्वप्रधानमन्त्रीद्वय ‘प्रचण्ड’ र शेर बहादुर देउवा तथा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ९ अर्ब बढि भ्रष्टाचार गरेको आरोप लगाए । सामाजिक सञ्जाल मार्फत उनले लगाएको आरोपले राष्ट्रिय राजनीति नै तरंगित भइरहेको छ । एक साता अघि उनले गरेको ट्विट प्रति सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत आपत्ति प्रकट गर्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौति दिएका छन् ।

हिजो मात्रै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भट्टराईको आरोपप्रति गम्भिर आपत्ति जनाउँदै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौति दिएका थिए । त्यसको पनि भट्टराईले जवाफ नदिइबस्न सकेनन् र भने–‘ बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं ।’

उनी यतिमै सिमित छैनन् । उनले सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न समेत भनेका छन् । यसरी सम्पत्ति छानविन गर्दा आफुले जुनसुकै सहयोग गर्ने प्रबिद्धता पनि जनाए । तर, त्यससँगै डा. भट्टराईले विज्ञप्ति जारी गर्ने पार्टी प्रवक्ता नारायणकाजीलाई समेत होच्याएका छन् । उनले श्रेष्ठलाई ‘जस्केलाबाट छिर्नेहरु’ भनेका छन् । ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’ आम निर्वाचनमा डा. भट्टराईसँगै पराजित भएपनि राष्ट्रिय सभामा मनोनित भएका नारायणकाजी श्रेष्ठ प्रतिको यो व्यंग्यले उनी नेकपाका नेताहरु प्रति कतिसम्म कठो छुद्र रहेछन् भन्ने प्रष्टिन्छ ।

हुन त डा. भट्टराईले कुनै पनि पार्टी र तिनका नेताहरुलाई भन्न बाँकी राखेका छैनन् । उनका व्यंग्यवाण मिश्रित शब्दहरु शाही शासन कालमा राजा ज्ञानेन्द्रले पनि भोगे, जनयुद्धमा संसदीय राजनीति गरिरहेका कांग्रेस, एमाले र राप्रपाले भोगे । गणतन्त्रमा आएपछि पनि उनी नरम बन्न सकेका छैनन् ।

किन डा. भट्टराई छुद्र ?

केही मनोविष्लेषकको भनाई छ पछिल्लो समय डा. भट्टराईले राजनीतिमा पाएको असफलताले दिक्क छन् । पहिलो संविधानसभाको अवसानसँगै उनको व्यक्तित्वको उचाईको ग्राफ झरेको झरेई छ । बौद्धिक, दुरदृष्टा र विद्वान नेताका रुपमा विश्वका राजनीतिज्ञहरुले डा. भट्टराईलाई मान्दथे । ‘संविधानसभाको असफलतासँगै आफ्नै पार्टीभित्र टिक्न नसकेर नयाँ पार्टी खोले, त्यसमा पनि सफलता पाउन सकेनन्, आफैंलाई अरु पार्टीमा समाहित गरे, त्यसमा समेत जनताले नपत्याइदिएपछि उनी हतोत्साही भइरहेका छन् ।’ एक मनोविष्लेषकको धारणा छ ।

पटकपटक प्रयास गर्दापनि कसैले कुनै चिज प्राप्त गर्न सक्दैन, सफलता प्राप्त गर्न सक्दैन भने ऊ भित्र त्यस चिज प्रति आशक्ति घट्दै जान्छ । ऊ निराश हुन थाल्छ । डा. डा. भट्टराईको सन्दर्भमा उनी निराश नै भएका त हैनन् तर, ‘जत्ति गरेपनि नहुने रहेछ !’ भन्ने चैं देखिन्छ ।

त्यसो भए डा. भट्टराई राजनीतिबाट विरक्तिएका हुन् ?

हैन, डा. भट्टराई नेपाली राजनीतिमा अपार संभावना भएका नेता हुन् । उनीसँग योजना छ, उद्देश्य छ तर, लिडरसिप छैन । लिडरसिप नभएकै कारण उनी रुष्ट भएका हुन् । ‘एउटा कुशल राजनीतिज्ञले अरुलाई होच्याएर राजनीति गर्दैन । सम्मान गर्छ, नीति सिद्धान्तको आधारमा तर्क गर्छ । डा. भट्टराईसँग देश बनाउने सोच र योजना त छ तर, नेतृत्व कसरी गर्नुपर्छ भन्ने ज्ञान भएन ।’ राजनीतिक विष्लेषक भन्छन् ।

डा. भट्टराईले अर्थमन्त्री तथा प्रधानमन्त्री भएको बेला गरेको काम र राजधानीको सडक सुधार अझैपनि जनताका मनमा छ । त्यहि भएर उनी राष्ट्रिय राजनीतिमा छाइरहेका छन् तर, उनको पार्टी भने सुक्दै गइरहेको छ ।

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु कदापी हुन सक्दैनन् । यो त समय र परिस्थितिले निर्धारण गर्नु कुरा हो । डा. भट्टराईले नै भनेका उद्गार हुन् । तर, आफ्नै लागि भने डा. भट्टराईका यी भनाईहरु मिथ्या सावित हुँदै गएका छन् ।

प्रतिक्रिया