अछाम र रूपन्देहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । अछाम र रूपन्देहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ ।
रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-८ नारायणस्थान नजिकै भित्री सडकमा लु१ य ८ नम्बरको स्कारपियो गाडीले बाटोको साईडमा फलफुल बेच्ने ठेलालाई सोमबार राति ठक्कर दिँदा ठेला चालककाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा सोही नगरपालिका-६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित बुढीगंगाबाट साँफेबगरतर्फ जाने भित्री सडकमा से१ त ८३३८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
ट्याक्टरमा काम गर्ने सोही नगरपालिका-७ बस्ने १८ वर्षीय राजु नागार्जीको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई उपचारको लागि न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालतर्फ लगिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








