अब सार्वजनिक सवारीमा क्षमता अनुसार यात्रु राख्न पाइने

काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न अनुमति दिएको छ । यसअघि सिट संख्याको आधामात्रै यात्रु राख्नुपर्ने र भाडा ५० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था लागू गरिएको थियो ।

तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त पहिलेको निर्णय उल्टाउँदै पूर्ण क्षमतामा यात्रु राख्न अनुमति दिने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको बेला व्यवसायीको दबाबमा पूर्ण क्षमताअनुसार सिटमा यात्रु राख्न दिने निर्णय बताइन्छ ।

अब दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार भाडा पुरानै दरमा लिनुपर्नेछ, ५० प्रतिशत बढी लिन पाउने भनेर गरिएको निर्णय अब कार्यान्वयन हुनेछैन ।

सरकारले पूर्ण क्षमतामा यात्रु राख्न पाउने निर्णय गरे पनि कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने बताएको छ । सरकारले सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुलाई मास्क अनिवार्य गर्न अनुरोध गरेको छ ।

सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनुपर्ने निर्णय यसअघि नै सरकारले गरेको थियो । यस्तै सोमबारको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया