इटहरी जाँदै हुनुहुन्छ ? रेड जोनमा जाँदा कारवाहीमा परिएला नि !

काठमाडाैं । इटहरीका केही क्षेत्रलाई रेड जाेनमा राखिएकाे छ ।  जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारि सहितको हिजाे (आइतबार) बसेकाे बैठकले इटहरी चौक क्षेत्र, वडा नम्बर ९ हटिया क्षेत्र, बसपार्क, तरहरा बजार, खनार बजार, पकली चौकलाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राख्ने निर्णय गरेकाे हाे ।

यसैगरी अत्याधिक भिडभाड हुने कार्यालयहरू उपमहानगरपालिका कार्यालय, अस्पताल, यातायात, बैंक, विद्युत् कार्यालयलाई पनि रेड जोनमा राखिएको छ । रेड जोन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी विना प्रयोजन हिँडडुल गर्न बन्द गर्ने निर्णय समेत भएको छ । मास्क नलगाई हिँड्ने जो-कोहीलाई नियन्त्रणमा लिएर सय रूपैयाँ जरिवाना गरी एकथान मास्क दिएर सचेत गराइने जानकारी दिइएकाे छ ।

प्रत्येक पसल, कार्यालय अगाडी साबुन पानीको व्यवस्था गर्नुपर्नेछ । नगरेको पाइए एक पटक सचेत गराउने र पुनः उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाहीको लागि सिफारिस गरिने बताइएकाे छ ।

साप्ताहिक हटिया बन्द गर्ने निर्णय पनि गरिएको छ । कोभिड १९ पूर्ण रुपमा नियन्त्रण नभएसम्म सभा, मेला, भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरूलाई प्रतिबन्ध गरिएको छ । यस्तै शैक्षिक कार्यक्रम पूर्ण रुपमा बन्द गरिनेछ । ज्येष्ठ नागरिक, दम, मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग भएका र गर्भवती, सुत्केरी र बालबालिकालाई उपचारका लागि बाहेक हिँडडुलमा रोक लगाइएको छ ।

पछिल्लाे समय काेराेना संक्रमण बढ्दै गएकाे छ । हिजाे मात्रै देशभरका ५७ जिल्लामा दुई हजार बढी संक्रमित थपिएका थिए भने २२ जनाकाे मृत्यु भएकाे थियाे । नेपालमा कुल संक्रमित संख्या एक लाख ७ हजार ७५५ पुगिसकेकाे छ । संक्रमितमध्ये ७५ हजार ८०४ जना डिस्चार्ज भइसकेका छन् भने हालसमम ६३६ जनाकाे मृत्यु भइसकेकाे छ ।

संक्रमित बढ्दै गएपनि विभिन्न जिल्ला तथा गाउँपालिकाहरूले सावधानी अपनाउँदै आर्थिक गतिविधि सुचारु गरिरहेका छन् । हरेक क्षेत्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने कसरत जारी छ ।

प्रतिक्रिया