वीपी कोभिड अस्पतालको भेन्टीलेटर विग्रिएको प्रति छानविन गर्न नेकपाद्वारा माग

  • भरतराज शर्मा(गोपाल)

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर नचलेको सन्दर्भमा सत्तारुढ नेकपा धरानले तत्काल भेन्टिलेटर सञ्चालन गर्न दवाव दिएको छ । भने, नयाँ भेन्टिलेटर कसरी विग्रियो छानविन गर्न पनि माग गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको असक्षमताका कारण प्रतिष्ठानको कोभिड अस्पताल अस्तव्यस्त बनाएको प्रति नेकपा धरानले पदाधिकारीलाई भेटेर तत्काल कोभिड अस्पतालको सेवा सुधार्न तथा कोरोना स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितता छानविन गर्न दवाव दिएको हो ।

आज बिहान नेकपाका धरान नगर इन्चार्ज चोत्लुङसहित नेकपाका नेताहरुले प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर शाहलाई भेटी कोभिड अस्पतालमा बिग्रिएर थन्किएका ६ वटा भेन्टिलेटर तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन भनेका छन् । प्रतिष्ठानलाई संकटको बेला जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा भएका संरचना समेत विगारेर जनताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप छ ।

संघ र प्रदेश सरकारले वीपी प्रतिष्ठानमा लेवल ३ को कोभिड अस्पताल बनाउन साँढे १५ करोड बजेट दिएर तयार गरीएको हस्पिटलमा जडान गरिएको तीन महिनामै कसरी भेन्टिलेटर विग्रियो ? भन्दै उनीहरुले प्रतिष्ठान समक्ष प्रश्न राखेका छन् ।
अस्पताल निर्देशकसँगको भेटमा बोल्दै नेकपा नगर इन्चार्ज चोत्लुङले नयाँ भेन्टीलेटर के कति कारणले सञ्चालनमा आउन नसकेको हो सो को छानबिन गर्नुपर्ने माग गरे । उनले पदाधिकारीहरु गैरजिम्मेवार बन्दा प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुँदै भएको बताउँदै जनताको स्वास्थ्यसँग जोडिएको विषयमा राजनीति नगर्न सुझाए । ‘धरान कोरोनाको चपेटामा परिसकेको छ, दक्षिण एशियाकै सुविधासम्पन्न अस्पताल भएपनि हामीले समूचित सेवा प्राप्त गर्न सकेनौं ।’ नेकपा नगर इन्चार्ज चोत्लुङले भने ।

टोलीले अस्पताल निर्देशकसँग कोभिड अस्पतालमा रहेको १ सय वेड मध्ये २५ वेड मात्र अक्सिजन सहित जडान भएकोमा आईसोलेसनको सम्पुर्ण वेडमा भेन्टिलेटर जडान गर्न भनेको छ । यसैगरी कोभिड अस्पताल भित्रै सिटि स्क्यान लगायतको व्यवस्था हुनुपर्ने पनि भनेको छ ।

टोलीले कोभिडका बिरामीहरुको खानपान तथा हेरचाहमा प्रतिष्ठानले चरम लापरवाही गरेको भन्दै कोभिडका विरामीहरुको हेरचाहमा विषेश सुधार हुनुपर्ने माग गरेको छ । यस्तै जनरल ओपीडीका कारण प्रतिष्ठानमा अत्याधिक भिडभाड भई स्वयं दर्जनौं चिकित्सकहरु समेत कोरोना संक्रमित भएको र आम जनतालाई पनि जोखिम बढेकोले अनलाईन टिकेटिङ सिस्टमको व्यवस्था गरेर भिडभाड नियन्त्रण गर्न सुझाएको छ ।

स्मरण रहोस्, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई गएको निर्वाचनमा जिताउन वीपी प्रतिष्ठानका संस्थापक डा. शेखर कोइरालालाई गाली गरेवापत स्वास्थ्यमन्त्रीको ‘बकस’ पाएर उपकुलपति भएर प्रतिष्ठान छिर्ने वित्तिकै प्रतिष्ठानको सबै सेवा अनलाईन सिष्टममा बनाउने घोषणा आज ६ महिनासम्म पनि पुरा गरेका छैनन् । उनले प्रतिष्ठान सुधार्ने भन्दापनि विगार्ने रणनीति अपनाएको प्रतिष्ठानकै चिकित्सक तथा कर्मचारीहरुको आरोप छ ।

टोलीले प्रतिष्ठानमा उपचारको पद्दति र त्यहाँ देखिएका समस्या समाधानार्थ पार्टीको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताउँदै प्रतिष्ठानले पनि जनताको स्वास्थ्य प्रति सचेत रहनुपर्ने बताएको छ ।

प्रतिष्ठानमा आईसीयू तथा भेन्टिलेटर थप्ने सन्दर्भमा सरकारलाई घच्घच्याउने काममा आफुहरु समेत लागि पर्ने तर, बिरामीलाई दिईने सेवा र कोरोना संक्रमण नियन्त्रण तथा उपचारका प्रतिष्ठानले लापरवाही गर्न नहुने बताइएको छ ।

भेटमा प्रतिष्ठानका डाईरेक्टर डा. गौरीशंकर शाहले प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार्न आफुहरु लागि परेको बताए । उनले आगामी दिनमा जोखिम झन बढ्ने बताउँदै त्यसको लागि प्रतिष्ठानले आवश्यक रणनीति बनाएर अगाडी बढ्ने कोभिड अस्पतालको भेन्टिलेटर सञ्चालन गर्ने तथा विरामीको हेरचाहमा कमी आउन नदिने प्रतिबद्धता जनाए ।

डा. शाहले कोभिड अस्पतालको भेन्टिलेटर तत्काल मर्मत गर्ने, सबै बेडहरुमा अक्सिजन जडान गर्ने, नयाँ भेन्टिलेटर सञ्चालन नभएको सम्बन्धमा छानबिन गर्ने र ओपिडीको भिडभाडलाई कम गर्न अनलाईन टिकेटिङ गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

त्यस्तै कोभिड अस्पतालको बिरामीहरुको खानपानको व्यवस्थापनको सन्र्दभमा भएको कमी कमजोरीहरुप्रति दुखः ब्यक्त गर्दै तत्काल सुधार गर्ने प्रतिबद्धता जनाए ।

बालुवाटार छिर्न उपकुलपतिको दौडधुप

प्रतिष्ठानमा कोरोनाका विरामीले उपचार नपाएर छट्पटाउँदा उपकुलपति भने राजधानीमा नेता र व्यापारीहरुलाई रिझाउन कुदिरहेका छन् । प्रतिष्ठानका चिकित्सकहरुको बढुवाको काम गर्न भन्दै चार दिनअघि राजधानी आएका उपकुलपति र उनका स्वकीय सचिव दिलिप भट्टराई स्वास्थ्यमन्त्री तथा प्रधानमन्त्रीसँग भेटघाटमा व्यस्त रहेका छन् ।

कोभिड अस्पताल सञ्चालनमा चरम लापरवाही गरेको, स्वकीय सचिवले व्यापारीहरुसँग साँठगाँठ गरेर खरिद कार्य गरेको भन्दै आलोचना भइरहेको र त्यसले प्रधानमन्त्री केपी शर्मा ओली समेत रुष्ट भएकाले उनलाई मनाउन भनेर उनीहरु राजधानी बसेको स्रोतको दावि छ । बालुवाटार स्राेतका अनुसार उपकुलपतिले काेराेना महामारीले जनता तड्पिइरहेकाे बेला उपकुलपतिले त्यसैलाई कमाउ धन्धा मच्चाएपछि प्रधानमन्त्रीले ‘काम गर्न नसक्ने भए राजिनामा दिए भइहाल्याे नी !’ भन्दै उपकुलपतिसँग भेट गर्न चाहिरहेका छैनन् ।

दुई दिन यता बालुवाटार प्रवेश गर्ने उपाय खोजेका उनीहरुले त्यसविच केही व्यापारी र विचौलियालाई भेट गरेका छन् । सामसुङ मोवाइलका नेपाल मालिक दीपक मल्होत्रादेखि उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी उपेन्द्र कोइराला समेतलाई प्रधानमन्त्री भेटाइदिन उपकुलपतिले गुहारेका छन् । उपकुलपतिको साथमा उनका भाई अजय गिरी समेत छन् ।

प्रतिष्ठानका सिनियर चिकित्सकहरुले जनता कोरोनाको चपेटामा परेको बेला प्रतिष्ठानका उपकुलपतिले कसरी हुन्छ स्वास्थ्य सेवा दिन रणनीति बनाउनु पर्नेमा घुमफिरमा दिन विताएको प्रति असन्तुष्टी प्रकट गरेका छन् । उनीहरुले उपकुलपतिकै कारण कोभिड अस्पताल अस्पव्यस्त भएको आरोप लगाए ।

प्रतिक्रिया