बाबुरामलाई कांग्रेसले भन्यो–‘देउवा, ओली र दाहालले खाएको ९ अर्बको आरोप पुष्टि गर्नु’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सभापति शेरबहादुर देउवासमेतले ९ अर्ब रुपैयाँ खाएको भन्ने आरोप पुष्टि गर्न जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई चुनौती दिएको छ ।

आतइबार (आज) एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा शर्माले सभापति देउवासँगै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकीमा ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भनी लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ–‘बूढीगण्डकीबारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नुभएको छ । हलुका टिप्पणीहरूलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन । तर, देशको प्रधानमन्त्रीजस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुन जान्छ ।’

गत शुक्रबार गृहजिल्ला गोरखा पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले नेकपाका दुई अध्यक्ष तथा देउवाले बूढीगण्डकीमा अर्बौं घोटाला गरेको आरोप लगाएका थिए ।

नेता भट्टराईको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको कांग्रेसले सञ्चारमाध्यम र अख्तियारलाई प्रमाण दावी पुष्टि गर्न अपिलसमेत गरेको छ।

प्रतिक्रिया