अग्रपंतिमा काम गर्ने ७० प्रतिशतमा मानसिक समस्या

काठमाडौं । मानवीय सेवा कार्यहरु गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरुले जोड दिएका छन् ।

मानसिक स्वास्थ्य दिवस, १० अक्टोबरको अवसरमा आज नेपाल रेडक्रस सोसाइटीबाट आयोजित अन्तर्राष्ट्रिय स्तरको छलफल कार्यक्रममा म्यानमारमा कार्यरत डा. युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपंक्तिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरुमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको बताए । उनले भने “कोभिड पछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकोले नीति निर्माताहरु अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ ।”

नेपालमा हरेक दिन औषतमा १५ जनाले आत्महत्या गर्ने गरेको र गएको वर्षमा करिब छ हजार तीन सयले आत्महत्या गरेको आँकडा प्रस्तुत गर्दै नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले अन्तर्राष्ट्रिय रेडक्रस अभियान र नेपाल रेडक्रसले मानसिक स्वास्थ्यमा गरेका कार्यक्रमको बारेमा प्रस्तुतीकरण दिए ।

कार्यक्रममा नेपाल रेडक्रस, साझेदार रेडक्रस सोसाइटीहरु, आइसीआरसी र रेडक्रसको महासंघका प्रतिनिधिहरु सहित ८५ जनाले भाग लिएको सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । कोभिड पश्चात नेपाल रेडक्रसका मनोसामाजिक सहयोग तथा निशुल्क हटलाईन ११३० मार्फत् सेवा लिएका तारा गुरुङ, देवी रेग्मीले आफूलाई परेको समस्या र समाधानको बाटो देखाइदिएकोमा खुशी व्यक्त गर्दै अनुभव आदान प्रदान गरेका थिए ।

कार्यक्रममा रेडक्रसको एशिया प्रसान्त क्षेत्रीय कार्यालयका विज्ञ एलिजा चेइङ ले एशिया क्षेत्रका मुलुकका रेडक्रस सोसाइटीहरुले मानवीय सहायता क्षेत्रमा मानसिक स्वास्थ्यमा गतिविधि बढाउदै लगेको तर त्यो पर्याप्त नभएको बताइन् ।

नेरेसोका महामन्त्रीले प्रकृतिसँगको सामिप्यता घट्दै गएको र हेयभाव, भेदभाव बढ्दै गएको अहिलेको सन्दर्भमा सबै सेवाकार्य गर्दा शुरक्षालाई उच्च प्राथमिकता राख्न, कार्यबातावरण राम्रो बनाउन र मानसिक स्वास्थ्यलाई सबै खालका कार्यक्रममा एकीकृत गर्न अनुरोध गरे ।

कोशिस नेपालका मातृका देवकोटाले मानसिक स्वास्थ्य खाना, पानी जस्तै अत्यावश्यक सेवा भएको र विलासिताको रुपमा नहेर्न अनुरोध गरे । विभिन्न सातवटा मुलुकमा गरिएको सर्वेक्षणको आधारमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले हिजो प्रकाशित प्रतिवेदनमा हरेक दुई जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या देखिएको जनाएको कार्यक्रम सञ्चालक शुशिल रेग्मीले जनाए ।

नेपाल रेडक्रसले विगतको शसस्त्र संघर्ष, भुकम्प प्रतिकार्यका गतिविधिहरु र अहिलेको कोभिड प्रतिकार्यमा मनोसामाजिक सहयोगलाई कार्यक्रमहरुको एउटा अंग बनाएको र यसलाई बढाउनुपर्ने आवश्यकता कार्यक्रममा सहभागीहरुले औँल्याएका थिए ।

प्रतिक्रिया